
चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिहीबारदेखि बन्द हड्तालमै उत्रिने उद्योगी व्यवसायीले बताएका छन् ।
उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकका कारण विस्थापित पार्ने गरी चर्को ब्याजदर लादेको आरोप लगाएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।
उद्योगी व्यवसायीहरूका दुई दर्जनभन्दा बढी संघ संस्थाहरूले बिहीवारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीवार नै एकदिन बजार बन्द गर्नेलगायतका घोषणा गरेका छन् ।
उद्योगी व्यवसायीहरूले पाँच सूत्रीय माग अघि सारेका छन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ ।
एकल अंकको ब्याजदर कायम गर्नुपर्ने समेत उनीहरूको माग छ । ब्याजदर १६ प्रतिशतसम्म पुगेकाले उद्योगधन्दा बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरूको भनाइ रहेको छ । स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ ।
नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघलगायतका दुई दर्जनभन्दा बढी संघ संस्था आन्दोलनमा उत्रिएका हुन् । बन्द हड्ताल रहर नभएर बाध्यता भएको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।