
पिठ्यूमा भयंकर दुखाइ रहेको बहाना गरेर बिदामा बसेकी महिला कर्मचारीले ‘डान्स’ गरेको भिडियो देखिएपछि बर्खास्त गरिएको छ ।
स्पेनिस न्युजपेपरमा प्रकाशित समाचारअनुसार ती महिला कर्मचारीको नाम पायडेड हो । उनी सेमार्क एसी ग्रूप कम्पनीमा सन् २००६ देखि कार्यरत थिइन् ।
केही महिनाअघि उनले पिठ्यूमा भयंकर दुखाइ भएको भन्दै कम्पनीबाट पारिश्रमिक समेत पाउने गरी बिदा लिइन् तर उनले कम्पनीलाई ढाँटेको तथ्य त्यतिबेला खुल्यो, जतिबेला उनी नृत्य गरिरहेको भिडियो कम्पनीका प्रमुखले टिकटकमा देखे ।
पिठ्यूमा दुखाइ भएका व्यक्तिले गर्न असम्भव भएका ‘स्पेट’ उनले नृत्यमा गरिरहेको देखेपछि कम्पनी प्रमुखले उनीमाथि कारवाही गरेका थिए । कम्पनीको कारवाहीविरुद्ध उनी अदालत समेत पुगिन् तर अदालतले कम्पनीको कारवाहीलाई सदर गरेको छ ।