०८ साउन २०८३, शुक्रबार

प्रदेश १ मा संसदीय दलको नेता– कांग्रेसमा चुनावको सम्भावना, अन्यले ताली बजाएर छान्ने !

पुस ७, २०७९
प्रदेश १ मा संसदीय दलको नेता– कांग्रेसमा चुनावको सम्भावना, अन्यले ताली बजाएर छान्ने !

नेपाली कांग्रेसले प्रतिनिधिसभामा बुधवार संसदीय दलको नेता छानेको छ । कांग्रेसले चुनावी प्रक्रियाबाट दलको नेता छान्दा अन्य दलले चुनावी प्रक्रियामा नगई नेता चुने ।

सोमवार सामाजिक सञ्जालमा दुईवटा तस्वीरले निकै चर्चा पायो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्न मनोनयन दर्ता गराउन गए ।

महामन्त्री गगन थापा र देउवा एकै ठाउँमा उभिएर मनोनयन दर्ता गराएको फोटोले निकै चर्चा पायो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हात उठाएको फोटो पनि सामाजिक सञ्जालमा निकै छायो  । उनलाई संसदीय दलको नेता बन्न गाह्रो परेन । सांसदहरूले ताली बजाएर नेता चुने । 

ओली मात्र हैन, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बिहीवार सोही विधिबाट नेता चुनिएका छन् ।

एकीकृत समाजवादीले माधव नेपाल, राप्रपाले राजेन्द्र लिङ्देन, रास्वपाले रवि लामिछानेलाई संसदीय दलको नेता चुन्दा पनि चुनाव भएन ।

प्रदेश १ मा पनि संसदीय दलमा पनि प्रतिनिधिसभामा जस्तै छनक देखिएको छ । 

प्रदेशसभा सचिवालयले प्रदेश १ का नवनिर्वाचित सांसदहरूको शपथको मिति टुङ्गो लगाएपछि नेता छान्ने कसरतमा दलहरू लागेका छन् । 

प्रदेश १ संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेशमा पनि केन्द्रकै निर्देशनअनुसार नेता चुन्ने लगभग पक्का रहेको सोही पार्टीका नेताहरू बताउँछन् ।

दलको नेता बन्न आकांक्षी पनि केन्द्रीय निर्देशनको पर्खाइमा छन् ।

२५ जना प्रत्यक्ष र १५ जना समानुपातिक गरी एमालेका ४० सांसद छन् ।

एमालेमा यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका हिक्मतबहादुर कार्की दलको नेताका बलियो दाबेदार हुन् ।

पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका उनलाई दलभित्र चुनौती दिन अहिलेसम्म कोही खुलेका छैनन् । हिजो १० बुँदे समझदारी गरेर आएकाहरू ज्यादै न्यून भएका कारण पनि एमालेभित्र दलको नेतामा प्रतिस्पर्धा हुने सम्भावना ज्यादै क्षीण छ । 

अध्यक्ष ओलीनिकट रहेका कार्की संसदीय दलको नेता बन्ने लगभग पक्का देखिएको छ । उनी झापा क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित भएका हुन् । ओलीको पनि त्यही क्षेत्र हो । उनलाई चुनौती दिने नेता जीवन घिमिरे चुनावमै पराजित भएपछि कार्कीका लागि बाटो खुलेको छ ।

उनलाई स्थायी कमिटी सदस्य समेत रहेका ताप्लेजुङका तिलकुमार मेयाङ्बोले चुनौती दिने चर्चा यसअघि एमालेभित्र थियो । योगेश भट्टराईका कारण माधव नेपालतिर लागेको र १० बुँदे हुनुअघि मात्रै ओली समूहमा लागेकाका कारण उनको सम्भावना कम भएको एमालेकै नेता बताउँछन् । हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेमा उनी मन्त्री बन्ने एमालेका एक नेताले बताए ।  

अबको एक साताभित्र दलको नेता चयन गर्ने कार्कीले बताए । 

शपथ ग्रहणकै दिन नेता चयन गर्ने सम्भावना रहेको उनको भनाइ रहेको छ । प्रदेश सांसदहरूले पुस ११ गते सोमवार शपथ लिँदै छन् । 

प्रत्यक्षमा १७ र समानुपातिकका १२ गरेर २९ जना सांसद रहेको कांग्रेसमा दलको नेताको दौडमा चारजना रहेका छन्  ।

प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरू अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की दलको नेता बन्ने दौडमा छन् । कार्की डा .शेखर कोइराला पक्षका हुन् भने थापा र पराजुली नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । अर्याल भने संस्थापन पक्षका हुन ।

एक हप्ताभित्रमै दलको नेता चयनको प्रक्रिया थाल्ने सभापति थापाले बताए । चारजना मध्ये संस्थापन र इतर समूह भएर चुनाव लड्ने सम्भावना रहेको छ ।

शेखर कोइरालाले निर्णय नगरेका कारण कार्की पनि अलमलमा थिए ।

संस्थापनइतर समूहबाट कार्की र सिटौला तथा देउवा समूहबाट अर्को कुनै एक साझा उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसभित्र दलको नेताका आकांक्षी धेरै भएका कारण पनि निर्वाचनबाटै त्यसको छिनोफानो हुने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।

प्रदेश १ मा संस्थापन पक्षमा १२, कोइराला पक्षमा ८ र सिटौला समूहका ९ जना छन् । यसरी हेर्दा सिटौलासहितको संस्थापन पक्ष प्रदेशमा बलियो देखिन्छ । 

महामन्त्री विश्व प्रकाश शर्मा र महामन्त्रीका उम्मेदवार रहेका प्रदीप पौडेल पनि गगन थापालाई सघाएका कारण केही सांसद संस्थापनइतर समूहमा खुल्ने नेताहरूको दाबी छ । 

प्रदेशसभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने प्रदेशसभा सदस्यहरूको शपथपछि मात्रै दलको नेता छान्ने तयारी गरेको छ । उसले केन्द्रमा पनि प्रतिनिधिसभा सदस्यहरूको शपथपछि मात्रै दलको नेता चयन गरेको छ ।

माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्वो संसदीय दलको नेता बन्ने लगभग पक्का छ । उनी पनि प्रचण्डकै शैलीमा नेता बन्ने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । 

शेरधन राई मुख्यमन्त्री हुँदा र राजेन्द्र राई नेतृत्वको सरकार बनेयता लगातार आर्थिक मामिला मन्त्री रहेका उनी प्रदेशसभामा पार्टीका सबैभन्दा सिनियर नेतासमेत हुन । प्रत्यक्षबाट ९ र समानुपातिक प्रणालीबाट ४ जना गरी माओवादीका १३ सांसद छन् ।

प्रत्यक्षतर्फ २ जना र समानुपातिकतर्फ ४ जना गरी ६ जना सांसद जितेको राप्रपाबाट भक्ति सिटौला दलको नेता चयन हुने राप्रपाका नेताहरू बताउँछन् ।

नेकपा एकीकृत समाजवादीसँग ४ जना सांसद छन्  ।

बहालवाला मुख्यमन्त्री राजेन्द्र राई संसदीय दलको नेता बन्ने पक्का छ । पाटीको केन्द्रीय सचिव समेत रहेकाले राजेन्द्र संसदीय दलको नेता बन्ने कुरामा द्विविधा नरहेको एक नेताले बताए ।

जनता समाजवादीसँग एकजना मात्रै सांसद रहेका कारण दलको नेता चुनिरहनु पर्दैन ।

salt training

कमेन्ट गर्नुहोस्