
उत्तर कोरियाले शुक्रवार छोटो दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रहरू पूर्व सागरतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
उसले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको एक हप्ता पनि नबित्दै पुनः प्रक्षेपण गरेको हो ।
प्योङयाङको सुनान क्षेत्रबाट उत्तरले स्थानीय समयअनुसार अपराह्न ४ः३२ मा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफले जनाएको छ ।
आइतवार मात्र उत्तरले पूर्व सागरमा मध्यम दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो ।
सन् २०२२ मा मात्र उत्तरले ६७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । उसले हाइपरसोनिक क्षेप्यास्त्र र ठोस इन्धनयुक्त लामो दूरीको क्षेप्यास्त्र पनि बनाउन थालेको छ ।