
विशेष अदालत काठमाडौंबाट भएको फैसलाउपर चित्त नबुझी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै पुनरावेदनबारे जानकारी दिएका हुन् ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये घुस/रिसवत, सार्वजनिक सम्पत्ति हानिनोक्सानी, राजस्व चुहावट र गैरकानूनी लाभ तथा हानी सम्बन्धी ४ वटा मुद्दामा आयोग पुनरावेदनमा गएको हो ।
विशेष अदालतले घुस रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी केशवराज जोशीलाई सफाइ दिएको, गोविन्दराज ओझा समेत संलग्न सरकारी रकम हिनामिना मुद्दामा बिगो घटाएको, डोमा शेर्पा संलग्न राजस्व हिनामिना मुद्दामा सफाइ दिएको, कृष्णकुमार नेपाली समेत संलग्न गलत लिखत तयार गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिएको फैसलाविरुद्ध अख्तियार सर्वाेच्च गएको जनाइएको छ ।