काठमाडौं, ३१ साउन– तराईमा आएको बाढीपछि त्यहाँ रहेका स्थानीयहरु बाटोछेउमा अस्थायी छाप्रो बनाएर जीविकोपार्जन गर्दै आएका छन् । सप्तरीमा अहिले खाद्यान्न लगायत खानेपानीको चरम समस्या देखिएको छ ।
असुरक्षित बासस्थानका कारण सर्पदंसको खतरा समेत उतिकै देखिन्छ । तराईमा समाचार तथा तस्वीर संकलनका क्रममा रहेका एपी न्युज एजेन्सीका निरन्जन श्रेष्ठले बाढीपछि त्यहाँका स्थानीय कसरी बस्दै आएका छन् भन्ने विषयमा तस्वीरहरु आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन् । उनको फोटोमा अस्थायी बासस्थान छेउछाउमा कोबरा जस्ता विषालु सर्पको तस्वीर रहेको छ ।

घरमा जोहो गरिराखेको खाद्यान्न बाढीले पुरिएका छन् भने धानबाली समेत बाढीमा डुबानमा परेको छ । पानीको सतह घटेपछि कोही घरबाट खाद्यान्न लगायत महत्वपूर्ण बस्तुहरु संकलन गर्न डुंगाको प्रयोग गरिरहेका छन् ।

फोटोपत्रकार निरन्जन श्रेष्ठका अनुसार बाढीपीडित एक बृद्धले यसपाली धान रोप्न साढे ३ लाख बैंकबाट ऋण लिएका थिए । धानबाली काटेपछि ऋण चुक्ता गर्ने उनको सोच थियो । तर बिडम्बना बाढीका कारण उनको धानबाली डुबेको छ । उनलाई अहिले बैंकमा लिएको उक्त रकम कसरी फिर्ता गर्ने चिन्ताले सताएको छ ।

बाढीपीडितलाई सरकारले राहत रकम वितरण गरे उनीजस्ता धेरैलाई राहत मिल्ने देखिन्छ । मैथलीमा समाचार संकलनमा रहेका फोटोपत्रकार श्रेष्ठका अनुसार प्राय स्थानीय बासीको एउटै चिन्ता खाद्यान्नको छ । अहिलेको समयमा उनीहरु निराश देखिन्छन् ।
तस्वीर स्रोत : निरन्जन श्रेष्ठको फेसबुकबाट