
देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले २४ घण्टाभित्र देशको एक दुई स्थानमा हाल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । देशको अधिकांश भूभागमा तापक्रम क्रमिकरुपले घटिरहेकाले चिसोबाट बच्न सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।
लुम्बिनी तथा सुदूरपश्चिमसहित देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने र तराईका जिल्लामा हुस्सु कुहिरो जारी रहने विभागले जनाएको छ ।
आज शनिबार प्रदेश १, मधेस, बागमती प्रदेशमा आंशिक बदली रही अन्य ठाउँमा सामान्यतः मौसम सफा रहने विभागले जनाएको छ । देशको उच्च पहाडी भुभाग र हिमाली क्षेत्रमा हल्का हिमपात हुने पिन विभागको भनाइ छ ।
त्यस्तै, भोलि आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । सोही दिन राति हिमाली क्षेत्रमा हल्का हिमपात हुने विभागले जनाएको छ ।
सोहीअनुसार पुस ११ गते सोमबार पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ ।