
नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एकीकृत कारोबारको घोषणा गरेका छन् । यही पुस १ गते दुवै संस्थाले एकअर्कामा गाभिई एकीकृत कारोबार गर्ने घोषणा गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डको धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमावलीले सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर÷एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार दुई संस्थाले गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको छ महिनाभित्र मर्चेन्ट बंैकिङ व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुसार संस्थाका प्रबद्र्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरेपश्चात गत भदौ २१ मा उक्त संस्था र एनबी क्यापिटलबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।
मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी एजेन्डा पारित गरेका थिए । विशेष साधारणसभाबाट अनुमोदित निर्णयसहित दुवै संस्थाबाट एकीकृत कारोबारका लागि कम्पनी रजिष्टारको कार्यलय निवेदन पेश गरिएको र कम्पनी रजिष्टारबाट एकिकृत कारोबारको लागि स्वीकृति प्राप्त भएपश्चात गत मंसिर २७ गते यस कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम पुस १ गतेका दिनदेखि एकीकृत कारोबार गर्ने निर्णय बमोजिम उक्त घोषणासभाको आयोजना गरिएको थियो ।
घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानालगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृत तथा साविक नेपाल बंगलादेश क्यापिटलका सञ्चालक र नबिल इन्भेष्टका सञ्चालकहरूको उपस्थिति रहेको थियो ।