
‘धर्मले जोड्छ, तोड्दैन । धर्म होइन भावना परिवर्तन गरौं ।।’ नाराका साथ सन्त निरंकारी मण्डल नेपालद्वारा आयोजित बृहत् सत्संग कार्यक्रम सम्पन्न भएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा प्रदूषण भित्र होस् कि बाहिर दुइटै हानिकारक हुन्छ भन्ने वाणीलाई आत्मसात गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
सन्त निरंंकारी मण्डल नेपालको आयोजनामा भएको कार्यक्रमको समापनमा सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको खाँचो रहेको बताए ।
आध्यात्मिक संंस्था सन्त निरंकारी मण्डल नेपालको ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलस्थित नवनिर्मित सत्संग भवनमा आयोजित कार्यक्रममा मन्त्री रावलले सो कुरा बताएका हुन् । सो अवसरमा उहाँले सन्त निरंकारी मिसनको योगदानको चर्चा गर्दै आफ्नो तर्फबाट अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मानव जीवनको परमलक्ष्य ईश्वरलाई जान्नु हो र यो कार्य समयका सत्गुरुको माध्यमबाट मात्र सम्भव रहेको उनको भनाइ छ ।
सन्त निरंकारी मिसनका सत्गुरु माता सुदीक्षाजी महाराज छिन् । विश्वमा मानव एकता, भाइचारा र शान्ति स्थापनाका लागि सन्त निरंकारी मिसन प्रयत्नशील रहेको उनले बताइन् । नेपालमा यो मिसन २०२० सालदेखि नै शुरु भएको उनको भनाइ छ । हाल देशको ३५ जिल्लाका विभिन्न स्थानहरुमा नियमित रुपमा सत्संंग सञ्ंचालित रहेको उनले बताइन् ।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले सत्संंगमा पाल्नुहुने सम्पूर्ण अतिथिलाई स्वागत गरे । मण्डलको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार तथा स्थानीय सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।
सत्संग कार्यक्रममा सुदूरपश्चिम प्रदेश संसद मेघराज खड्का, मानबहादुर रावल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रेम कुँवर, समाजसेवी भरतकुमार स्वाँर, अछाम जिल्ला पूर्व समन्वय समितिका सभापति नरबहादुर कुँवरको पनि उपस्थिति थियो ।
सत्संग कार्यक्रममा सन्त निरंकारी सेवादल विभाग, टीकापुर क्षेत्रीय संचालक नरबहादुर बटाला, काठमाडौं क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, केन्द्रीय सहसचिव नरबहादुर विश्वकर्मा लगायतका सन्तमहापुरुषहरुले धारणा राखेका थिए । केन्द्रीय सचिव अनिल महर्जनले सत्संग कार्यक्रमबारे जानकारी गराएका थिए । संस्थाले समय समयमा वृक्षारोपण, सरसफाइ, रक्तदान, आँखादान, प्राकृतिक आपतविपतमा पीडितको उद्धारजस्ता सामाजिक कार्यक्रम गर्दैआएको छ ।