
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक साताको समय आइतबार सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।
नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् ।
यसैबीच प्रधानमन्त्री पदमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच हानथाप भएको छ । दुबै पार्टीले प्रधानमन्त्री नछाड्दा सत्ता गठबन्धनको निरन्तरको बैठक निष्कर्षविहीन बन्दै आएको छ । यहीक्रममा सहमति जुटाउने प्रयासस्वरुप सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दैछ । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा साँझ ५ बजे सकिन लागेकाले सो अघि नै सहमति जुटाउन पहल हुने गठबन्धनका नेताहरुको भनाइ छ ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ–आफ्नो दाबी कायमै राखेका छन् ।
सरकारको नेतृत्वको विवादले गठबन्धननै टुट्न सक्नेसम्मको चार्चा भइरहँदा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने प्रधानमन्त्री को हुने भन्ने कुराले सहमतिमा हलो नअड्किने जिकिर गरेका छन् ।
‘अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ’, सञ्चारमन्त्री कार्कीले भने ।
पूर्वसहमतिअनुसार कांग्रेसले दोस्रो कार्यकालमा प्रधानमन्त्री लिने र पहिलो कार्यकालमा माओवादीले लिने सहमति भएपनि अहिले आएर देउवाले दिन आनाकानी गरेको माओवादीका नेताहरुले गुनासो गर्दै आएका छन् । कतिपय माओवादी नेताहरुले पूर्वसहमति कार्यान्वयन नभए गठबन्धनको औचित्य सकिने समेत तर्क गरेका छन् । एमाले पनि गठबन्धन भत्किएको खण्डमा सरकार बनाउने दाउमा छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् । फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्कसमेत गरे । प्रधानमन्त्री हुने इच्छा प्रचण्डले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए । उनले अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावनासमेत औँल्याए ।
००००
नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरूले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको बाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताए ।
उनीहरूले नेपाली कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए । प्रधानमन्त्रीसँग भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रमा पौडेलले अबको सरकार नेपाली कांग्रेसकै बन्नेमा विश्वस्त हुन आग्रह गरिन् ।
००००
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए ।
००००
१० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय आज स्वदेश फर्किएका हुन् । उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् ।
००००
लागुऔषध सेवन गरी सवारी साधन चलाएको पाइएपछि राजधानीबाट ७ जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शनिबार लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन् ।
००००
लुम्बिनी विकास कोषले गुरुयोजनामा उल्लेख भएअनुसार बाहेकका संरचना गुरुयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो ।
००००
पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् । व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरूको भनाइ छ । पेट्रोलियम पदार्थ बिक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरुका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन् ।
००००
‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता बनेका करण राईले गीत(संगीत क्षेत्रमा थप सक्रिय रुपमा लाग्ने बताएका छन् ।
शुक्रबार भएको ग्राण्ड फिनालेमा विजेता घोषित भएपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली गीत(संगीतलाई आफ्नो तर्फबाट टेवा दिने कोसिस गर्ने बताएका हुन् ।