
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभिएपछि सञ्चालक समिति अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त भएका छन् । दुवै कम्पनी गाभिने अन्तिम सम्झौता भई दुवै कम्पनीले कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेका थिए ।
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. मा गाभ्न स्वीकृति प्राप्त भए बमोजिम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा गत मंसिर २७ गते कम्पनी दर्ता प्रमाण पत्र तथा नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार गर्ने स्वीकृति प्राप्त भएको थियो । दुवै कम्पनी गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट पुस ७ गतेदेखि एकिकृत कारोबार सञ्चालन भएको छ ।
यसै सन्दर्भमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पुस ७ गते बसेको ३३३औँं बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.को सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भएको हो । अध्यक्ष भट्टराईले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
पुस ७ गते नै बसेको सञ्चालक समितिको ३३४औँ बैठकमा अध्यक्ष भट्टराईले सञ्चालकहरू नन्दकिशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्तकुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन् ।