
राष्ट्रपति विद्या भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।
नेकपा एमालेसहित प्रतिनिधिसभाका १७० सांसदको समर्थन प्राप्त गरेका प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, जनमुक्तिका ४ सांसदले समर्थन गरेका छन् ।
यस्तै स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गरेका छन् ।
हेर्नुहोस्, राष्ट्रपति कार्यालयको विज्ञप्ति :
प्रचण्डको यो तेस्रो कार्यकाल हो ।
२०६५ साल साउनमा प्रचण्ड पहिलो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए । प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा राष्ट्रपतिले सरकारको निर्णय उल्ट्याइदिएपछि प्रचण्डले राजीनामा गरेका थिए ।
२०७३ साल साउन १७ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । दोस्रो कार्यकालमा प्रचण्डले स्थानीय तहको निर्वाचन गराएका थिए ।
२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका प्रचण्ड पछि चितवन बसाइँ सरेका थिए ।
२०६४ सालमा काठमाडौं, २०७० सालमा सिरहा, २०७४ सालमा चितवनबाट निर्वाचित प्रचण्डले यसपटक गोरखा– २ बाट चुनाव जितेका थिए ।