
सत्ता गठबन्धन टुटेको विषयमा कांग्रेसकै नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्न थालेका छन् । देउवाले परिस्थितिको सही आकलन गर्न नसक्दा गठबन्धन टुटेको भन्दै असन्तुष्ट बनेका हुन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकारले गठबन्धन टुटेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नै पार्टी म नै राज्य हुँ भन्ने अहंकार, स्व–केन्द्रित निर्णय, चरम सत्ता–लिप्साको दूषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै, ५ दलीय गठबन्धन टुटेको छ । लोकतन्त्रवादीको लागि जनता नै सर्वोपरी साध्य र शक्ति हो । सत्ता त साधन मात्र हो । यही मूलमन्त्र हो हाम्रो आगामी दिनको ।’
सत्तारुढ पाँच दलीय गठबन्धन सरकारको नेतृत्वका विषयमा सहमति हुन नसकेपछि टुटेको छ । ५ दलीय गठबन्धन टुटेपछि एमाले–माओवादीसहित अन्य दलको गठबन्धनको बनेको छ । उक्त गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।