
बर्दिबास–९ पशुपतिनगर गोमस्ताटोलका ५५ वर्षीय भीमबहादुर आले मगरले पुसको जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा एकछिन पसेपछि खलखली पसिना आएको बिर्सेका छैनन् ।
आफ्नो बस्ती र छिमेकका बस्ती जहाँ हेरे पनि भर्जिनियाँ सुर्ती खेतीमात्र देखिने चार दशकअघिको कुरा अब स्मृतिमा मात्र रहेको उनको भनाइ छ । “जुन गाउँबस्तीमा हे¥यो, बारनैबारन ? फाँटभरि सुर्तीका लहलहाउँदा बोट । अनि हिउँद लाग्यो की सुर्तीका पात टिप्ने, पात फट्टा (भाटा) गाँथ्ने, सुर्तीको पात गाँथिएको फट्टा बारनघरमा झुण्ड्याउने र सात दिनपछि फट्टा निकाल्ने चटारो हुन्थ्योे”, लयमा हुने सुर्ती खेतीका काम सम्झँदै आलेले भने, “देख्दादेख्दै जिल्लाको उत्तरी क्षेत्रका बस्तीपिच्छे देखिने बारनघर ढले, अब त सुर्ती खेतीको नामोनिसान देखिदैन ।” समूहमा गरिने त्यो कामको रमाइलो आलेलाई अझै सम्झना छ ।
आलेले बालापन सम्झनुभएजस्तै करिब चार दशकअघिसम्म जिल्लाका उत्तरी क्षेत्रका हालका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका करिब एक सयभन्दा बढी बस्तीको मुख्य खेती नै भर्जिनिया सुर्ती थियो । समयक्रममा जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै बारनघरका लागि कोइला र दाउराको अभाव हुन थालेपछि घट्दै गएको यो खेतीको अहिले नामनिशान नै देखिँदैन ।
भर्जिनियाँ सुर्ती खेती सुकेपछि किसानले केही समय सुकाउन बारनघर नचाहिने नाटु सुर्ती रोजे । केही वर्षमै जनकपुर चुरोट कारखानाले सुर्ती लिन छाडेपछि किसानले बाध्य भएर यो खेती पनि छाड्न प¥यो । त्यसपछि उखुखेतीमा पसेका किसानको पछिल्ला केही वर्षयतादेखि यसप्रतिको आकर्षण पनि घट्दै गएको देखिँदैछ । जिल्लामा केही वर्षअघिसम्म करिब १८ हजार हेक्टरसम्म पुगेको उखुखेती यसपालि आइपुग्दा पाँच हजार हेक्टरको आसपासमा झरेको जिल्लाका स्थानीयतहको कृषि अभिलेखले देखाएको छ ।
अहिले उमेरले ७० टेकेका बर्दिबास–७ मनहरीपुरका किसान विन्देश्वर यादवले किसानी जीवनका थुप्रै उतारचढाव आफैँले भोगे । पछिल्ला १५ वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुरु गर्नुभएका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानुभएको छैन । यसमै आफूलाई घोटी रहनुभएको छ तर मौसमीय प्रतिकूलता र विभिन्न थरिका किराको प्रकोपले तरकारी खेतीको लागत बढ्दै गएपछि अब के गर्ने भन्ने चिन्ताले यादवलाई छोएको छ ।
सात बिघामध्ये तीन बिघा जग्गामा तरकारी खेती गर्दैआएका यादवको जग्गामा अहिले आलु, कोवी, भाण्टा, खोर्सानी र लौका मुख्य तरकारी बाली हुन् । खेती गर्न थालिकन धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आइपुगेको यादवको अनुभव छ । अब पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ । खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने यादव अब त विषादीले पनि किरा चिन्न छाडेको बताए ।
“उ त्यहाँ कोवीको बोट हेर्नोस, कति थरीका औषधि (विषादि) छरी सके, केही टेरेको छैन”, बारीका केही पात सुक्दै गएका कोवीका बोट देखाउँदै यादवले दिक्दार भावमा भने, “सल्लाह दिने कोही जेटी, जेटिए (कृषि प्राविधिक) पनि भेटिँदैनन् , के गर्ने होला ?” विषादी प्रयोग नगरी खेती हुन सक्दैन ? भन्ने जिज्ञासामा यादवले प्रयोगपछि बारीमा असरल्ल मिल्किएका विषादीका खोल देखाउँदै भने, “यी बिना त हामीकहाँ कोवी खेती गर्छु भनेर नसोचे हुन्छ ।”
मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप बढी हुनेगरेको उनको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी औषधि पनि थिए कि थिएनन् ? अहिले त यी थरीथरीका किरा र रोगले हतो हैरान नै पारेका छन् ।” पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झदै विन्देश्वरले अचेलभने कैयन थरीका झार उम्रने र त्यसलाई मास्न औषधि नै प्रयोग गर्ने गरेको बताए ।
पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झदै पछिल्ला वर्षहरुमा क्रमशः समयमा पानी नपर्ने, कहिले कुसमयमै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखु खेती हुँदै अहिले नगद आर्जनका लागि आफू तरकारी खेतीमा लागेको विन्देश्वरको भनाइ छ । पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षहरुमा मेल खान छाडेपछि खेती पनि बदलिँदै जानुपरेको उनको भनाइ छ ।
“हेर्नोस् न, असार १५ ताका मज्जाले पानी पर्छ भनेर धान रोप्ने रोपार खोजिन्थ्यो, त्यस्तै हुन्थ्यो पनि”, यादवले आफू २०÷२२ वर्षको तन्नेरी हुँदाका कुरा सम्झदै भने, “बर्खा लागेपछि पानी परी रहन्थ्यो, कुला चल्थे, त्यस्तो रोगब्याधी पनि लाग्दैनथ्यो, राम्रै अन्न भित्रिन्थ्यो”, तर पछिल्ला १५÷२० वर्ष यता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ (सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम) हाल्नु परिरहेको उनकोे थप चिन्ता छ । यसको ठ्याक्कै कारण थाहा नभएपनि बस्ती बढ्दै गएर वन फाँडिनु, कलकारखाना बढ्नु र जताततै नदीहरुमा बालु ढुङ्गा निकाल्न ठूलठूला मसिन (उत्खननमा प्रयोग गरिने यान्त्रिक उपकरण) चल्न थालेपछि यस्तो भएको हुनसक्ने उनको अनुमान छ ।
जीवनका भोगाइका विभिन्न अनुभव सँगालेका पाका किसान आपूmले देख्दादेख्दै ओरपरको परिवेश कुरुप हुँदै गएको भक्कानिँदै बताए । “न पहिलेका पानीका मूहान छन, न झिलमा पानी छ, न कतै अब दह बाँकी छन्, न हामीले देखेको वनजङ्गल छ”, यादवकै खेतबारी नजिक जग्गा भएका बर्दिबास –९ पशुपतिनगरको शिरानटोलका ७५ वर्षीय जागेश्वर ठाकुरले भने, “यही ठाउँमा बुढो भइसकियो, तर फेरिएको परिवेशले यो उही ठाउँ हो कि होइन भन्ने भ्रम पो हुन्छ ।” ठाकुरजस्तै उहाँका समवयी छिमेकी नथुनी महतोको पनि चिन्ता छ ।
मनहरिपुरका विन्देश्वरजस्तै बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो, जवाहर महतो, रामविनोद महतो र ब्रह्मदेव महतो पनि तरकारी खेतीमा जमेका किसान मानिँन्छन् । उमेरले ५० वर्ष नाघिसकेका उनीहरु सबैको चिन्ता पनि विन्देश्वरको जस्तै छ । छिमेकको भङ्गाहा नगरपालिका–४ का ६० वर्षीय सत्यनारायण यादव, ५५ वर्षीय रामसागर यादव , ५२ वर्षीय चन्देश्वर यादव र ६५ वर्षीय रघु महरा पनि मौसमले साथ नदिँदा र लागतको कुराले बर्सेनिजसो खेती बदल्नु परेको बताए ।
जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञले बताए । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगालेका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले बताए ।
“जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती साधन, स्रोतको अभावमा यसबाट बढी प्रभावित छन्”, उनले भने, “गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रसायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्तसाहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने उनको सुझाव छ । रासस