
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । यस्तै नागरिकका समस्या समाधान गर्नेतर्फ सरकार क्रियाशील हुने प्रतिबद्धता जनाइएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ बसेको बैठकले मन्त्रीहरुले बढेको तलब नलिने निर्णय पनि गरेको छ । प्रतिकात्मक रुपमा यसै आर्थिक वर्षदेखि राष्ट्रसेवकहरुको तलबमा भएको वृद्धि कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरुले नलिने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । यसैगरी जनतालाई आधारभूत सेवाहरु सहज ढंगले प्रदान गर्नेलगायतका निर्णय पनि भएको उनको भनाइ छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रचण्डसँगै तीन उपप्रधानमन्त्री र ४ मन्त्रीले पनि शपथ लिएका छन् ।
००००
पहिलो मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको बैठक बोलाउनेबारे छलफल भएको छ । यद्यपि कहिले बोलाउने भन्नेबारे भने ठोस मिति तय नभएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।
००००
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले जनताले व्यहोरिरहेका सास्ती कम गर्न सरकार लागिपर्ने बताएका छन् । सरकारमा सहभागी दलहरूमा केही नयाँ गरिछाड्ने संकल्प रहेको पनि बताए । मन्त्रिपरिषद्को पहिलो बैठकपछि सोमबार राति सिंहदरबारमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले जटिलता र चुनौती सामना गर्दै जनताका समस्या समाधानमा लाग्ने बताएका हुन् ।
‘पक्कैपनि हाम्रा सामु जटिलता र चुनौती छन्, मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ । चुनावमा जस्तो परिणाम देखियो त्यसलाई समेटेको र आशा जगाएको छ’ प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषदको यो बैठकमा पनि अर्थतन्त्रको स्थिति जटिल र चुनौतिपूर्ण छ, सुधार्न प्रभावकारी ढंगले कदम चाल्ने सहमति भएको छ ।’
००००
प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलो निर्णयका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी विषयमा हस्ताक्षर गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पदभार गर्दै प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।
००००
शपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ मन्त्रालय आफूसँगै राखेका छन् । मन्त्रिपरिषद्मा पहिलो वरियतामा रहेका प्रचण्डसँग १७ मन्त्रालय छन् भने दोस्रो वरियतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् ।
सरकारको तेस्रो वरियतामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ छन् भने चौथो वरियतामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छन् । अन्य चार मन्त्री पनि रहेको भएपनि उनीहरुको वरियता कायम छ तर मन्त्रालय तोकिएको छैन ।
००००
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रका सामु देखा परेका चुनौती काबुबाहिर नभएको भन्दै समाधान गरिने बताएका छन् ।
अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनले बताए ।
सोमवार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ–संस्था सबैलाई समस्या समाधानमा आश्वस्त तुल्याउने बताएका हुन् ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कागजमा नभई जनताले वास्तविक जीवनमा परिवर्तन महसूस हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
कर्मचारीको सरुवा–बढुवामा नलाग्ने भन्दै उनले निधक्क भएर काम गर्न आग्रह गरे ।
सोमवार साँझ गृह मन्त्रालयमा पदभार सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै रविले नयाँ सरकार बनेपछि अवस्था फेरियो भन्ने गरी काम गर्नुपर्ने बताए ।
००००
लामो समयको संवादहीनता तोड्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सोमबार कुराकानी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ समारोहमा सहभागी हुन पुगेका ओली र नेपालबीच संवाद भएको हो । शपथको औपचारिक समारोहमा पूर्वप्रधानमन्त्रीद्वय ओली र नेपाल एउटै पंक्तिमा बसेका थिए । त्यही नै ओली र नेपालबीच सामान्य बोलचाल भएको थियो ।
प्रधानमन्त्रीको शपथलगत्तै भएको चियापान कार्यक्रममा पनि ओली र नेपालबीच संवाद भएको सहभागी एक नेताले जानकारी दिए । ‘उहाँहरुबीच संवादहीनता टुट्यो,सन्चो बिसन्चो लगायत सामान्य कुराकानी भएको हो,’ उनीहरूको संवाद देखेका ती नेताले भने ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताएका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि धारणा सार्वजनिक गर्दै नेता कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त हुन्छौं ।’ कोइरालाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई र शुभकामना समेत दिएका छन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको सत्ता राजनीतिमा आएको नाटकीय उलटफेरपछि लक्ष्यमा पुग्न लागेको कांग्रेस शून्यमा झरेको जस्तो अनुभूति भएको बताएका छन् ।
पोखरामा आयोजित साहित्य महोत्सवको ‘राजनीतिमा समाजको ऐना’ सत्रमा पत्रकार वसन्त बस्नेतसँगको संवादमा उनले पछिल्लो राजनीतिक प्रकरणबारे पार्टीभित्र गहिरो समीक्षा गरिने उल्लेख गरे ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्कालका लागि सरकारलाई समर्थन मात्र गर्ने भएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई समर्थन गरे पनि राप्रपा अहिल्यै सरकारमा नजाने बताएका हुन् ।
००००
सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेश गरेका हुन् । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ ।
००००
नयाँ सरकार आएसँगै शेयर बजारमा सकारात्मक संकेत देखा परेको छ । आइतवार बिदाको दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
सोमवार बिहानदेखि नै विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाले शेयर बजारमा रौनक देखिएको थियो । अन्तिममा पौडेल नै उपप्रधान तथा अर्थमन्त्री बन्ने पक्का भएपछि शेयर बजार थप उचालिएर ५६ दशमलव ८६ अंकको वृद्धि भयो ।
००००
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी घुसकाण्डमा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतवार साँझ बुटवलस्थित निवासबाट हतकडी लगाएर नियन्त्रणमा लिएको हो । सुन कारोबारसम्बन्धी मुद्दामा पैसा असुली गरेपछि उनी अनुसन्धानको दायरामा आएका हुन् ।
००००
१ नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यसैबीच कांग्रेसले प्रदेश १ मा संसदीय दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।