
राजनीतिमा आएको नयाँ उथलपुथलले लुम्बिनी प्रदेशमा सरकार बनाउन नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुगेको छ ।
लुम्बिनीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धनमा रहेका राजनीतिक दल एक ठाउँमा उभिँदा नयाँ सरकार झण्डै दुईतिहाइ नजिक पुग्ने देखिएको छ । केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेसँगै लुम्बिनीमा नयाँ सरकारको कसरतमा गठबन्धनका नेताहरू जुटेका छन् ।
लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभा छ । जहाँ सरकार बनाउनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ, नयाँ गठबन्धनमा ५२ सांसद छन् । एमालेबाट २९, माओवादी केन्द्रबाट ९, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४, जनमतबाट ३, नागरिक उन्मुक्तिबाट ४ गरी ५२ सांसद गठबन्धनमा छन् । जनमत र नागरिक उन्मुक्ति लुम्बिनीमा नयाँ उदाएका शक्ति हुन् ।
लुम्बिनीमा पहिलो कार्यकालको शुरूका साढे ३ वर्ष मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमालेको सरकार र त्यसपछि माओवादी नेतृत्वमा सरकार बन्यो । दोस्रो कार्यकालका लागि नयाँ सरकार बनाउने तयारीमा रहेको नेपाली कांग्रेस अब प्रमुख प्रतिपक्षको भूमिकामा पुग्ने देखिन्छ । कांग्रेसको लुम्बिनी प्रदेश सभामा २७ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ गरी प्रदेश सभामा १० राजनीतिक दल र ३ स्वतन्त्र सांसद छन् ।
नेकपा एमालेका एक नेताका अनुसार नयाँ गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्नसक्नेछ । ‘गण्डकी प्रदेशमा गृहमन्त्री भइसकेका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्न प्रदेशमा उठेका छन् । कर्णालीमा यामलाल कंडेल यसअघि नै मुख्यमन्त्री बन्ने तयारी थियो, उतिबेला भएनन् । प्रदेश १ मा हिक्मत कार्की मुख्यमन्त्री बनाउन पार्टी अध्यक्षले अगाडि सारेका छन् । मधेशमा एमाले पहिलो दल बनेको छ, त्यहाँ एमालेले नेतृत्व गर्छ । लुम्बिनी यसपटक माओवादीले नेतृत्व पाउँछ जस्तो मलाई लाग्छ,’ ती नेताले लोकान्तरसँग भने ।
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत देखिए पनि मुख्यमन्त्री कुन पार्टीबाट बन्ने भन्ने अझै टुंगो लाग्न बाँकी रहेको बताए । लुम्बिनीमा एमालेले संसदीय दलको नेता अझै टुंगो लगाएको छैन । लुम्बिनीमा दलको नेतामा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री लीला गिरी, केन्द्रीय सदस्य तथा पूर्व प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, पूर्व सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थी आकांक्षी छन् ।
माओवादी केन्द्रभित्र रोल्पाबाट निर्वाचित जोखबहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना बढी छ । दाङका माओवादी सांसद धनबहादुर मास्की पनि दाबेदार रहेका छन् । महरा प्रधानमन्त्री प्रचण्डको सचिवालयमा काम गरेका नेता हुन् भने मास्की पार्टी उपाध्यक्ष कृष्णबहादुर महरानिकट नेता हुन् ।
माओवादी प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि महरा र मास्कीतिर सम्भावना ढल्किएको हो । बाँकेबाट निर्वाचित कृष्णा केसीले पनि नेतृत्व चाहेकी छन् । माओवादीले पनि संसदीय दलको नेता अझै टुंगो लगाएको छैन ।
प्रदेश सरकार गठनको नयाँ समीकरण बनेसँगै प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र संसदीय समितिमा भागबण्डा हुने देखिन्छ । त्यसैले अझै पनि मुख्यमन्त्री कसको भागमा पर्छ भन्ने स्पष्ट खाँका नआएको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । ‘केन्द्रको सबै फाइनल भएपछि प्रदेशमा प्रवेश होला । लुम्बिनीको मुख्यमन्त्री, प्रदेश प्रमुख सबैको प्याकेजमै सहमति हुन्छ,’ बरालले लोकान्तरसँग भने ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादी चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका थिए भने यसपटक कांग्रेस र माओवादीसहित ५ दलको तालमेल थियो । लुम्बिनीले नयाँ मुख्यमन्त्री पाउनेछ । अहिलेका मुख्यमन्त्री कूलप्रसाद केसी सांसद छैनन् भने संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोखरेल प्रतिनिधि सभामा दाङ–२ बाट पराजित भएका छन् ।
लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ सांसद चयन भइसकेका छन् । लुम्बिनीमा यसपटक ६१ सांसद नयाँ अनुहार आएका छन् । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी) बाट प्रदेश सरकारले कामकाज शुरू गरेको छ । नयाँ संसद पनि स्थायी राजधानीकै प्रदेश सभामा बस्ने प्रदेश सभाका प्रमुख सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । अहिले लुम्बिनीमा माओवादी नेतृत्वको मिलिजुली सरकार छ । कांग्रेसबाट रुपन्देहीका अब्दुल रज्जाक र दाङका डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीका आकांक्षी थिए ।