
‘चिनीबाट के बन्छ ?’ कसैले तपाईलाई सोध्यो भने झट्ट तपाई दिमागमा आउने त्यो प्रश्नको जवाफ हो, ‘चिया’ । कसैले गुलियो पेय पदार्थ पनि भन्लान् । खानेकुरामा खीर पनि बन्छ भन्लान् ।
तर चीनबाट कार बन्छ भनेर सायदैले भन्छन् होला । नभनेर के भो त तर एक विद्यार्थीको समुहले चिनीको प्रयोगबाट कार बनाएर देखाइदिएको छ ।
विद्यार्थीको समूहले चिनीबाट यस्तो कार बनाएका छन्, जो ४ जना मानिसलाई बोकेर प्रतिघण्टा ८० किलोमिटरको गतिमा दौडिन सक्छ ।
चिनीबाट बनेकाले यसलाई ‘बायोडिग्रेडेबल कार’ भनिएको छ । यो कार बनाउने नेदरल्यान्डका विद्यार्थी हुन् । उनीहरुले भनेका छन् कि कार वातावरणमैत्री बनेको छ ।
वातावरणमैत्री कार निर्माणको एक खुड्किलोका रुपमा चिनीको कार उत्पादन भएको उनीहरुको दावी छ । यसको तौल सामान्य कारको भन्दा धेरै कम भएको बताइएको छ । र यो कार विद्युतबाट चल्ने छ ।
कारमा चिनीबाट बनाइने कपडाको कच्चा पदार्थलाई सिट कभरका रुपमा प्रयोग गरिएको छ । नेदरल्यान्डको युनिभर्सिटी अफ टेक्नोलोजीअन्तर्गतको टियू÷इकोमोटिभ समूहका विद्यार्थीले कार तयार गरेका हुन् ।
समूहका एक सदस्यले बताएअनुसार पांग्रा र सस्पेन्सन मात्र बायो बेस्ड सामग्रीबाट तयार भएका छैनन् ।
कारलाई लिना नाम दिइएको छ । यसको तौल ३ सय १० किलोग्राम मात्र छ । यद्यपि कार सञ्चालन अघि गरिने ‘प्रोटोटाइप क्रस टेस्ट’ भने गरिएको छैन ।