
शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको लोकान्तरलाई जानकारी दिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतवार राति बुटवलस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा राखिएको राईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका उनी सोमवार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीका आधारमा सीआईबीले छानबिन गरेको थियो ।
पटक–पटक विवादमा मुछिएका डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए । डीएसपी केसी निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणनिकट भएकाले सत्ताको आडमा मनपरी गरेको र मनपरी गर्नेलाई छुट दिएको आरोप लाग्दै आएको थियो । उनी यसअघि पनि पटक–पटक विवादमा मुछिँदै आएका थिए ।