
काठमाडौं, ३२ साउन — केही दिनअघि भारतका सेनाप्रमुख जनरल बिपिन रावतले भारतीय सेना साढे दुई मोर्चामा युद्ध लड्न तयार भएको बयान दिएका थिए । उनको यो बयान चीन र पाकिस्तानमा पनि खुबै चर्चित भएको थियो ।

चीन र भारतबीच पछिल्लो दुई महिनामा डोक्लाम सीमामा तनाव चलिरहेको छ । चिनियाँ मिडियामा युद्धको धम्की लगातार आइरहेको छ । भारतले डोक्लाममा दुस्साहस गरेको सरकारी सञ्चारमाध्यमले लगातार लेखिरहेको छ ।
चीनले भारतलाई आफ्नो सैनिक फर्काउन लगाइरहेको छ । अर्कोतर्फ भारत चाहिँ चीनलाई सडक निर्माण बन्द गर्न भनिरहेछ ।
चिनियाँ मिडियामा १९६२ को युद्ध पनि चर्चाको विषय बनेको छ । उक्त युद्धमा भारत बेइज्जत तवरले हारेको थियो । भारतले चीनसम्ग युद्ध गरेमा पाकिस्तानसँग पनि लड्नुपर्ने हुन्छ त ?
सन् १९६२ को युद्धमा पाकिस्तानको भूमिका कस्तो थियो ? त्यतिखेर पनि पाकिस्तानले चीनको साथ दिएको थियो ?
भारत स्वतन्त्र भएपछि भारतले लडेका सबै युद्धका साक्षी रहेका पत्रकार कुलदीप नैयर भन्छन्, ‘म लालबहादुर शास्त्रीसँग काम गरिरहेको थिएँ । उनले मलाई भनेका थिए, चीनसँगको युद्धमा पाकिस्तान हाम्रो साथमा भएको भए हामीले त्यो लडाईं जित्थ्यौं । यस्तोमा उनीहरूले हामीसँग कश्मीर माग्दा पनि नदिन गाह्रै हुन्थ्यो । भारतले पाकिस्तानसँग मद्दत मागेन तर मद्दत पाइएला भन्ने आशा गरेको थियो ।’
तर नैयरका अनुसार पाकिस्तानका शासक अयूब खानले भारतलाई मद्दत दिने थिएनन् । अमेरिकाले पाकिस्तानलाई भारत र चीनबीचको युद्धमा कुनै दख्खल नदिनका लागि धेरै दबाब दिएको थियो ।
अहिले त युद्ध भएको ५५ वर्ष बितिसकेको छ । भारत र चीनको तनावमा पाकिस्तानमाथि अमेरिकाको दबाबले काम गर्ला त ?
कुलदीप नैयर भन्छन्, ‘भारत र चीनबीच युद्ध भएमा पाकिस्तान खुलेर भारतविरुद्ध जानेछ । उसले चीनलाई मद्दत गर्नेछ । त्यसो त अमेरिकाले पाकिस्तानमाथि अत्यधिक दबाब दिएर तटस्थ बस्न लगाउन पनि सक्छ ।’
जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक सविता पाण्डे भन्छिन्, ‘पच्पन्न वर्षमा धेरैकुरा परिवर्तन भइसकेको छ । अहिले पाकिस्तान र चीनले भारतविरुद्ध मैत्री गरेका छन् । कुनै पनि देशलाई दुईवटा मोर्चामा लड्न गाह्रै हुन्छ । सेनाप्रमुखले जेसुकै भनेपनि दुई मोर्चामा लडाईं गर्न गाह्रै छ ।’
अहिले त पाकिस्तान परमाणु शक्तिसम्पन्न राज्य भइसकेको छ । उसले चीनसँग गहिरो सम्बन्ध बनाएको छ ।
पाकिस्तानले भारतसँग खुला युद्धभन्दा पनि छद्म युद्ध गर्छ ।
पाण्डे भन्छिन्, ‘पाकिस्तानका लागि यो राम्रो मौका हो र उसले कश्मीरमा उथलपुथल गर्न सक्छ । सन् १९६२ को युद्धपछि पाकिस्तान र चीनको सम्बन्ध बलियो भएको थियो । सन् १९६३ मा पाकिस्तानले चीनलाई आफ्नो केही भूभाग नै सुम्पेको थियो ।’
पाकिस्तानमा चीनको उपस्थिति बढेकाले युद्ध भयो भने दुवै एकसाथ उभिनसक्छन् । जेएनयूमा दक्षिण एसिया अध्ययन केन्द्रका प्राध्यापक पी लामा भन्छन्, ‘पाकिस्तान र चीनबीच सीपीईसी र काराकोरम राजमार्गको विषयममा बनेको सम्बन्धमा भारतले विरोध गरेको छ । चीनले भारतसँग अनुमति नलिइकनै पाकिस्तान नियन्त्रित कश्मीरबाट बाटो निकालेकोमा भारत रुष्ट छ ।’
लामाका अनुसार चीन र पाकिस्तानबीचको सम्बन्धका बारेमा भारतलाई थाहा छ । तर अर्को मोर्चामा पाकिस्तान भारतविरुद्ध जान सजिलो भने छैन ।
बीबीसी हिन्दीका लागि रजनीश कुमारको रिपोर्ट