२७ जेठ २०८३, बुधबार

अति माेटा र दुब्ला सशस्त्र प्रहरीले राष्ट्रसंघीय मिसनमा जान नपाउने, सेवाअवधि १५ वर्ष पुग्नैपर्ने

अति माेटा र दुब्ला सशस्त्र प्रहरीले राष्ट्रसंघीय मिसनमा जान नपाउने, सेवाअवधि १५ वर्ष पुग्नैपर्ने
फाइल तस्वीर

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फर्म्ड पुलिस यूनिट (एफपीयू)को रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको लागि सशस्त्र प्रहरी बल नेपालले कम्तिमा १५ वर्ष सेवा अवधि पूरा गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ । 

मिसनमा सहभागी हुने सशस्त्र प्रहरी कर्मचारीहरूको छनोट प्रक्रिया अझै निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले यूएन एफपीयू मिसन छनोट निर्देशिका संशोधन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । संशोधित निर्देशिकाले लामो समयसम्म सेवा अवधि पूरा गरी मिसनमा अवसर नपाएका कर्मचारीहरू बढी लभान्वित उनले बताए । 

यसअघि निर्देशिकामा न्यूनतम ५ वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीहरूसमेत मिसनमा सहभागी हुन पाउने प्रावधान थियो । पहिले सेवामा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरूले यस्ता प्रकारका अवसर पाउनुपर्छ भन्ने उद्देश्य र देशभरिका इकाईहरूमा कार्यरत कर्मचारीहरूबाट प्राप्त सुझावअनुसार निर्देशिका परिमार्जन गरिएको थापाले बताए । 

मिसनमा सहभागी हुने सशस्त्र प्रहरी कर्मचारीहरूले सशस्त्र प्रहरी बल नेपालले हालै मात्र लागू गरेको बडी मास इन्डेक्स (बिएमआई)का आधारमा स्वास्थ्य वर्गीकरण सम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने प्रावधान गरेको छ । जसअनुसार उचाइअनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट बञ्चित हुनुपर्नेछ ।

समान मितिमा भर्ना तथा पदोन्नति भएका कर्मचारीहरूको हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतिको जेष्ठताक्रमअनुसार छनोट गर्ने प्रावधान राखिएको छ । मापदण्ड पूरा भई विभागीय कारबाही भएको भए कारबाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी छनोट गरिने तर पछिल्लो भर्ना तथा पदोन्नति मिति भएका कर्मचारीहरूसँग छनोट गर्नुपर्ने भएमा यो प्रावधान लागू नगरिने बताइएको छ । 

आचरणविपरित क्रियाकलाप गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशिकामा तोकिएको अवधिसम्म मिसन छनोटमा बञ्चित गरिने छ । जसअनुसार एकपटक मात्र विभागीय सजाय पाएका कर्मचारीहरूको हकमा सजाय फुकुवा भएको मितिले एक वर्ष पूरा भएको हुनुपर्ने र दुई वा सोभन्दा बढी सजाय पाएका कर्मचारीहरूको हकमा ७ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै, पदको जेष्ठतामा पर्नका लागि बढुवा फारम नभर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई ३ वर्षसम्म उक्त अवसरबाट बञ्चित गरिने छ । यसअघि बढुवा फारम नबुझाई सिनियर हुने र मिसन जान खोज्ने प्रवृत्ति देखिएको थियो ।

निर्देशिकाअनुसार लगातार वा पटक–पटक गरी १२ महिनाभन्दा बढी समय ड्यूटी गर्न नसक्ने भनी नेपाल एपीएफ अस्पतालका सम्बन्धित चिकित्सकको राय अभिलेखबाट देखिएमा मिसन छनोट प्रकृयामा त्यस्ता कर्मचारीलाई सहभागी गराइने छैन । तर, सशस्त्र प्रहरी कर्मचारी १२ महिनाभन्दा बढी ड्यूटीमा अनुपस्थित रहेको भए अनुपस्थित रहेको अवधि बराबर पूर्ण रुपमा ड्युटी गरेको भनी अभिलेखबाट देखिएमा तोकिएको मापदण्डको आधारमा मिसन छनोट प्रकृयामा सहभागी हुन सक्नेछन् ।

यस्तै एफपीयू प्रि–एफप्याट परीक्षामा सिनियर अधिकृतहरूलाई तोकिएको कोटाको दोब्बर संख्यामा सहभागी गराई उत्तीर्ण मध्येबाट दर्जागतको जेष्ठताको आधारमा छनोट गरिने छ । परीक्षामा अनुत्तिर्ण भई तोकिएको संख्या अपुग भएमा जेष्ठताक्रमको आधारमा निकटम जुनियरलाई परीक्षामा पुनः सहभागी गराई परिक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ । 

यसका साथै सशस्त्र प्रहरी निरीक्षकको हकमा तोकिएको संख्यालाई शतप्रतिशत मानी उक्त संख्याको ८० प्रतिशत खुला भर्नाको जेष्ठताक्रमबाट र २० प्रतिशत भर्ना मितिको जेष्ठता क्रमअनुसार छनोट गरिने छ ।

यसैगरी मिसन छनोट भएका अधिकृतले विशेष कारणबाहेक (प्रसूति, क्रिया, विपद्) मिसनमा जान असमर्थता देखाएमा सम्बन्धित दर्जाको वैकल्पिक उम्मेद्वारलाई छनोट गरी यस्ता कर्मचारीको मनोनयन रद्द गरिने र यसरी रद्द भएको कर्मचारी सो वर्ष सञ्चालन हुने अनपोल परीक्षामा पनि सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । 

मिसन छनोटपश्चात सञ्चालन हुने तैनाथी पूर्वतालिममा सैद्धान्तिक एवं व्यवहारिक रूपमा लिइने स्तरपरीक्षामा अनुत्तिर्ण भएमा वा सो तालिममा १५ दिनभन्दा बढी अनुपस्थित भएमा र आचरणविपरीतको कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूको मिशन सहभागिता रद्द गरिने निर्देशिका उल्लेख छ । 

यो निर्देशिका लागू भएसँगै भर्खरै सेवा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरू मिसनमा सहभागी भइरहँदा लामो समय सेवा गर्ने कर्मचारीहरू सहभागिताबाट बञ्चित हुनेलगायतका गुनासोहरू नआउने सशस्त्र प्रहरीले जनाएको छ । 

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सन् २००३ डिसेम्बर १९ मा पहिलोपटक अफ्रिकी मुलुक लाइबेरियामा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) खटिएको थियो । अन्तर्राष्ट्रियस्तरमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको उच्च व्यवसायिकताले गर्दा पछिल्लो पटक अफ्रिकी मुलुक साउथ सुडानमा सन् २०१४ जनवरी १७ देखि यस्तै युनिट खटिइरहेको छ । 

अहिले उक्त मिशनमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा १ सय ८० जनाको टोली कार्यरत रहेको छ । हालसम्म सशस्त्र प्रहरी बल नेपालबाट ६१ वटा टोली गरी कुल ७ हजार ७ सय २४ जनाले शान्ति स्थापनार्थ मिसनमा सेवा प्रदान गरिसकेका छन् भने संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ पश्चिम अफ्रिकी मुलुक मालीको किडालमा हालै थप मिशनको रूपमा तैनाथीको लागि तयारी अवस्थामा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्