पटना, ३२ साउन– नेपालको तराई क्षेत्रमा बाढीबाट मृत्यु हुनेको संख्या १ सय २३ पुग्दा भारतमा पनि बाढीले बितण्डा मच्चाएको छ । नेपालको सीमावर्ती राज्य भारतको बिहारमा बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश र बिहारमा बाढीका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । नेपाल–भारत सीमा क्षेत्रका नदीमा आएको बाढीमा बगेर ५० भन्दा बढी व्यक्ति बेपत्ता भएका जनाइएको छ ।
बाढीका कारण करिब ६५ लाख मानिसहरु प्रभावित भएका जनाइएको छ । बाढीका कारण बिहारका १३ जिल्लाका १०७० गाउँ पञ्चायलतहरु डुबानमा परेका छन् ।
बाढीको सबैभन्दा बढी असर अररिया क्षेत्रमा परेको छ । यो क्षेत्रमा २४ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै पश्चिम चम्पारणमा ९, किशनगञ्जमा ८ जना, सीतामढीमा ५, मधेपुरामा ४, पूर्वी चम्पारण, दरभंगा तथा मधुबनीमा तीन तथा शिवहरमा १ जनाको मृत्यु भएको छ ।
राज्य सरकारले बाढी प्रभावित क्षेत्रमा उद्दारको कार्यलाई तीब्रता दिइएको जनाएको छ । राहतसँगै विस्थापित तथा पीडितहरुलाई राहत उपलब्ध गराउने काम पनि सुरु भएको जनाइएको छ ।