
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने सम्भावना धेरै भएको बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबीपी न्युजसँगको अन्तरवार्तामा प्रचण्डले यस्तो बताएका हुन् ।
तपाईँको पहिलो विदेश भ्रमण भारतको हुन्छ कि अरु कुनै देशको भन्ने प्रश्नमा उनले भारतनै हुन सक्ने सम्भावना धेरै रहेको बताएका हुन् ।
‘मलाई सबैभन्दा पहिला कहाँबाट निमन्त्रणमा आउँछ त्यही जाने हो । भारतको विदेश सचिवसँग मेरो थोरै कुराकानी भएको थियो । सायद मेरो पहिलो विदेश भ्रमण भारत नै हुने धेरै सम्भावना छ’, प्रचण्डको भनाइ छ ।
प्रचण्डले आफू भारत विरोधी नभएको प्रष्ट पार्दै पुराना विवाद बिर्सेर अगाडि बढ्ने पनि बताए । प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा आफूलाई सर्वप्रथम भारतीय राजदूतले बधाई दिएको पनि बताए । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट बधाई दिएको र सो क्रममा नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कुरा गरेको स्मरण गरे । उनले पछिल्लो पटक भारत जाँदा पनि दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने कुरा भएको पनि सुनाए ।
प्रचण्डले सरकारले भारतलगायत सबै छिमेकी मित्र राष्ट्रहरूसँग मिलेर काम गर्ने पनि बताए ।