सैनिक श्रीमती संघले निःशुल्क स्वास्थ्इ शिविर सञ्चालन गर्दा ६४२ जना सर्वसाधारण लाभान्वित भएका छन् । सैनिक श्रीमती संघ तथा श्री नं. २५ बाहिनी अड्डाको समन्वय र सहकार्यमा कञ्चनपुरको लालझाडी गाँउपालिका २ कस्वास्थित शिवशंकर आधारभूत विद्यालयमा संघले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
नेपाली सेना तथा महाकाली प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सक मेडिकल टिमको समन्वयमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा राहत सामग्री पनि वितरण गरिएको संघले जनाएको छ ।
शिविरमा छाला रोग, स्त्री रोग, बाल रोग तथा जनरल मेडिसिनसम्बन्धी सेवा प्रदान गरिएको थियो । सो अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले शिवशंकर आधारभूत विद्यालय, जनचेतना आधारभूत विद्यालय र नवोदय आधारभूत विद्यालयलाई कम्प्युटर ९ थान, प्रिन्टर फोटोकपी मेशिन ३ थान, मल्टिमिडिया प्रोजेक्टर ३ थान सहयोग गरेको बताइन् ।
विभिन्न प्रकारका फर्निचर, स्टेशनरी सामान लगायत खेलकुदका सामग्रीहरु पनि सो अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको शर्माले जानकारी दिइन् । त्यस्तै, लालझाडी गाँउपालिकामा बसोबास गर्ने जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा एकल महिलालाई कम्बल १२ सय थान, म्याट्रेस ५ थान, व्हिलचियर गोटा १, बैशाखी गोटा २ तथा ३० जना बालबालिकालाई ट्रयाकसुट तथा स्टेशनरी सामग्रीहरु वितरण गरिएको छ ।