
पछिल्लो एक सातामा बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस १ गतेको तुलनामा ८ गतेसम्ममा निक्षेप ४६ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तो निक्षेप मंसिर महिना लागेदेखि नै निरन्तर बढीरहेको छ । मंसिरमा मात्रै ५७ अर्ब रुपैयाँले बढेको निक्षेप पुस पहिलो साता नै २० अर्ब १० करोड रुपैयाँले बढेको बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
पछिल्लो एक सातामा कर्जा प्रवाह भने जम्मा १ अर्ब रुपैयाँले मात्रै बढेको छ । पुस पहिलो साता कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँ भएको छ ।