
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको कार्यालय सिंहदरबारमा दलको नेता चयनका लागि अन्तिम रस्साकस्सी चलिरहेको थियो ।
शुरूमा ४ जना आकांक्षी देखिए पनि संघीय परिषद् अध्यक्ष अशोक राई र प्रभावशाली नेता रामसहायप्रसाद यादव अन्तिमसम्म दलको नेताका लागि रेसमा थिए ।
मधेशबाट चुनिएका अधिकांश सांसद गैरमधेशी पृष्ठभूमिका संघीय परिषद् अध्यक्ष राईलाई दलको नेता बनाउन तयार नभएपछि यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत बनाउने प्रयास भयो ।
त्यसक्रममा केहीबेर चर्काचर्की समेत पर्यो । जसपा सांसद सुशीला श्रेष्ठले पोर्टफोलियो बिचार नगरी दलको नेता चयन गर्न लागिएको भन्दै पार्टीमै विग्रह आउन सक्ने चेतावनी दिइन् ।
श्रेष्ठ संघीय परिषद् अध्यक्ष राईकी श्रीमती समेत हुन् । उनी जसपाको समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
उनको आक्रोशले बैठक कक्षमा एकछिन तनावको स्थिति भएको थियो । के भनेकी थिइन्, श्रेष्ठले ?
(सांसद श्रेष्ठको भनाइ जस्ताकोतस्तै)
पार्टीमा अहिले जे कुरा बाहिर आएको छ त्यसले सेन्टिमेन्ट भड्किन्छ कि भड्किँदैन ? के हामी मधेशका नेताहरू मधेशको मात्रै नेता र पहाडका नेताहरू पहाडका मात्रै नेता हौं ?
मधेशको नेतालाई पहाडको नेता बनाउन नसकिने, पहाडको नेतालाई मधेशको नेता बनाउन नसकिने भन्ने पनि हुन्छ ? मैले त के फील गरेको छु भने यसरी मधेशका नेताले मात्र पार्टीमा अवसर पाउने हो भने पार्टी नै चल्दैन ।
पार्टीको संघीय परिषद् अध्यक्षलाई नै दलको नेता बन्न नदिने हो भने पार्टी कसरी चल्छ ? महत्त्वपूर्ण प्रश्न के हो भने पार्टीमा हामीले हाइरार्की मेन्टेन गर्छौं कि गर्दैनौं ? उहाँ त संघीय परिषद अध्यक्ष नै हो । उहाँलाई उछिनेर उहाँभन्दा मुनिकालाई नेता बनाउँदा के सन्देश जान्छ ?
मैले यो विषयमा तपाईंहरूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । म त समानुपातिक सांसद भएको नाताले मेरो एउटा भोट संसदीय दलको नेतालाई जाने हो। समानुपातिक मत त मधेशले मात्र दिएको होइन नि ! पहाडबाट पनि आएको छ। पहाडी, आदिवासी जनजाति सबैले हालेका छन् ।
सबै भूगोल र समुदायबाट आएको समानुपातिक भोटको सेन्टिमेन्टको कदर नगर्ने हो भने हामी पार्टी निर्माण गर्न सक्दैनौं । धर्मशाला पार्टी बनाउँछौं । आउने आउँदैछ, जाने जाँदैछ । र, यो भित्रको विग्रह भोलि कसले थेग्ने ? यो कुरालाई पनि गम्भीररूपले ध्यानाकर्षण गराउन चाहन्छु ।
अहिले हामी राज्य सञ्चालनमा छौं । सिनियर, जुनियरको पनि ख्याल राख्नुपर्छ । यी सबै कुरालाई गम्भीर रूपले ध्यानाकर्षण गराउन चाहेको छु । हामीले मधेशको मात्र पार्टी बनाउन खोजेका हौँ कि पहाडको पनि पार्टी बनाउन खोजेका हौं भन्ने कुरामा प्रस्ट हुनुपर्छ ।
हामी हाइरार्की मेन्टेन गर्छौं कि गर्दैनौं भन्ने कुरा पनि महत्वपूर्ण प्रश्न हो । र, संघीय परिषद अध्यक्ष जसलाई हामीले सर्वसम्मत रूपले विधायन समितिको बैठकबाट चुनेर ल्याएका छौं, त्यसलाई दलको नेता नबनाउने हो भने पार्टी कसरी चल्छ ? उहाँ त फेरि जितेर आएको नेता पनि हो । अहिले त उहाँलाई सबै माननीयज्यूहरूले सर्वसम्मत दलको नेता चयन गर्नुपर्ने होइन र ?
अन्त्यमा अशोक राई दम्पतीको जोर चलेन । राई आफू उम्मेदवारी नदिन तयार भए । रामसहायप्रसाद यादवको एकल उम्मेदवारी पर्यो अनि निर्विरोध निर्वाचित भए ।

जसपाका १२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादवको अनुपस्थितिमा पार्टीको संसदीय दल हाँक्ने जिम्मा उनका विश्वास पात्रको काँधमा पुगेको छ ।