
कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानव निर्मित ताल निर्माण गरिन लागेको छ ।
महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन् । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ । महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी सविना रानाभाटले पुल निर्माणसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको बताए ।
महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भएको बताए । उनले निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र सकिन लागेको जानकारी दिए । उनका अनुसार पुलको उत्तरपट्टि एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन । अहिले पोखरीका लागि बाँध बाँध्ने काम भइरहेको छ ।
रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैतभित्र सक्ने गरी निर्माण अघि बढेको छ ।