
विगत केही दिनदेखि बाक्लो हुस्सु र शितलहरले तराईमा अत्याधिक चिसो बढेको छ । लुम्बिनी प्रदेशसहित पश्चिम तराईमा विगत केही दिनदेखि घाम लागेको छैन । जाडो अत्याधिक बढ्दा जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।
आकाश धुम्म छ । मौसम नखुल्दा पश्चिमी वायुले चिसो हावासँगै शीतलहर चलेपछि थालेपछि विपन्न समुदाय समस्यामा परेका छन् । मानिसहरू घरबाट बाहिर निस्किन सकेका छैनन् । मौसम चिसिँदै जाँदा तापक्रम ओरालो लागेर अचाक्ली ठिही बढेको छ । पुस पहिलो सातादेखि अत्याधिक चिसो बढेको हो ।
चिसो बढेसँगै अस्पतालहरूमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । कोरोना र मौसमी रुघाखोकीका लक्षण मिल्दाजुल्दा हुने भएपछि धेरैले कोरोना संक्रमण भएको कि भनेर सशंकित छन् । बालरोग विशेषज्ञ डा.नेत्र रानाले अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीको चाप बढेको बताए ।
डा.रानाले चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी जोखिममा रहेको भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । चिसोका कारण श्वासप्रश्वाससम्बन्धी समस्यादेखि निमोनियाजस्ता घातक समस्या देखिन सक्ने उनले बताए । चिसो बढेसँगै स्थानीय सरकारले विपन्न परिवारलाई दाउरा वितरणको तयारी गरेका छन् ।