
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सबइन्जिनीयर विवेक कार्कीसहित ४ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिए ।
दमक नगरपालिका र मिक्लाजुङको सिमानामा रहेको मावा खोला उत्खननका लागि किशन एण्ड दृष्टी बिल्डर्स प्रालिले ठेक्का लिएकोमा कम्पनीले मापदण्ड विपरीत उत्खनन् गर्दा पनि दमक नगरपालिकाले वास्ता नगरेको भन्ने प्रकाशित समाचार सम्बन्धमा अनुसन्धान हुँदा दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सबइन्जिनीयर विवेक कार्कीले मावा खोलाबाट उत्खनन् गर्नुपर्ने अनुमति प्राप्त परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् हुँदा अनुमति प्राप्तभन्दा बढी उत्खनन् गर्ने कार्यलाई समयमै नियन्त्रण गर्ने र सो बमोजिम समयमै प्रतिवेदन गर्नुपर्नेमा त्यसो नगरी आफू कानूनी जिम्मेवारीबाट विमुख भई नगरपालिकालाई प्राप्त हुने राजस्व रकम हानिनोक्सानी हुने कार्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उत्खनन् कार्य नियन्त्रण गर्नेतर्फ उदासीन रही भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूर गरेको देखिन आएकाले निजहरू ज्ञानेन्द्र चौधरी र विवेक कार्कीलाई उल्लेखित कसूरमा अनुमतिभन्दा बढी उत्खनन् बापतको ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) बमोजिम बिगो अनुसार जरिवाना र ३(१)(झ) बमोजिम कैद सजाय हुन एवं हानिनोक्सानी भएको बिगो समेत असूलउपर हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
आरोपी ज्ञानेन्द्र चौधरी र विवेक कार्कीले नदीजन्य पदार्थ के कति परिमाणमा उत्खनन् भएको थियो भनी स्थलगत जाँचबुझ एवं मुचुल्का समेत उठाई यकिनका साथ प्रतिवेदन पेश गर्नुपर्नेमा हचुवाको भरमा उत्खनन् गरेकोभन्दा घटी परिमाण उल्लेख गरी झूटो गलत प्रतिवेदन दिएको देखिएकाले निजहरूको उक्त कार्य समेत भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९(२) बमोजिमको कसूर भएको हुँदा कसूरजन्य कार्य गर्ने निजहरूलाई उल्लिखित कसूरमा थप सजाय हुनसमेत मागदाबी लिइएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र निजका प्रतिनिधि निशम कार्कीले सम्झौता विपरीत बढी नदीजन्य पदार्थ उत्खनन् गरी आफूलाई गैरकानूनी लाभ लिने बदनियतले कबुलियतनामाको शर्त उल्लंघन गरेकाले उक्त कार्यबाट दमक नगरपालिकालाई प्राप्त हुने राजस्व रकम रू. ३,४४,११,२८८।२५ सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको हुँदा निजहरू पशुपति उप्रेती र निशम कार्कीलाई रु. ३,४४,११,२८८।२५ (तीन करोड चौवालिस लाख एघार हजार दुई सय अठ्ठासी रुपैयाँ पच्चीस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा निजहरूलाई सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी बिगो रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’