
बढ्दो लैङ्गिक हिंसा न्यूनीकरणमा आवश्यक पहल लिन सरोकारवाला निकायका प्रतिनिधिहरुले सरकारसँग माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सो माग गरेका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारीछविलाल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङले आफ्ना भोगाई तथा अनुभवहरु कार्यक्रममा जानकारी गराएकी थिइन् । कानुन भए पनि कार्यान्वयन हुन नसकेको प्रति उनले ध्यानाकर्षण गराइन् । कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरुले लैङ्गिक हिंसाको विषय संवेदनशील विषय भए पनि सरकारले गम्भीरतापूर्वक समस्या समधानमा ध्यान नदिएको आरोप लगाएका थिए ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवशीं, मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपाल बुढाथोकी र प्रमुख अतिथीको रुपमा पाल्नु भएका भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले लैंगिक हिंसा नियन्त्रणमा स्थानीय सरकार संवेदनशील रहेको बताएका थिए । घटना नियन्त्रण, न्यूनीकरण र रोकथाम गर्न पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रहरी प्रधान कार्यालयबाट जिल्ला तहमा राखिएको यस किसिमको कार्यक्रमले आफुहरुलाई थप हौसला प्रदान गरेको बताए । लैंगिक हिंसा नियन्त्रणमा सबै पक्ष र समुहरुले आ–आफ्नो तह र तप्काबाट महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गरे । लैङ्गिक हिंसा न्यूनीकरणमा सरकार जिम्मेवार भएर लागेको बताए ।
कार्यक्रममा जिल्लास्थित नगरपालिका, गाउँपालिका प्रमुख तथा उप–प्रमुख, नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरी शर्मा, प्रादेशिक अस्पताल भद्रपुर झापाका मे.सु. टंकप्रसाद बाराकोटी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीहरु रुद्र न्यौपाने र विश्वराज नेपाल, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत, नं २ सशस्त्र प्रहरी बल झापाका शसस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरा लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले बताए ।