
पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपतिमा दाबी नगरेको स्पष्ट पारेकी छन् ।
घर्तीले आफूले दाबी नै नगरेको विषयमा केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएकोप्रति आश्चर्य प्रकट गरिन् ।
आफूले पार्टी नेतृत्वसमक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालसहित कोही पनि नेताले प्रस्ताव नगरेको घर्तीले उल्लेख गरिन् ।
‘मैले उपराष्ट्रपतिमा दाबी गरेको छैन र गर्दिनँ पनि’, उनले भनिन्, ‘मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु ।’
केही दिनयता घर्तीले उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका समाचारहरू आएका थिए । सत्ता गठन्बन्धनबीच भागबण्डा हुँदा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति छ ।