
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु नपर्ने बताएका छन् । उनले हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा मन्त्रालय रहेको पनि बताएका छन् ।
‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरू तपाईँको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्ध छन्’, उनले सामाजिक सञ्जालमार्फत शुक्रबार भनेका छन्, ‘हामी, हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं।’
उनले राम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरेपनि फरक नपर्ने तर खबरदारीचाहिँ दिल खोलेर गर्न समेत आग्रह गरेका छन् । ‘हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला’, उनले भनेका छन् ।
लामिछानेले जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता भएको उल्लेख गर्दै बाल्यकालदेखि आजसम्म इमान नगुमाएको दाबीसहित त्यसलाई कायम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सम्पुर्ण माध्यमबाट आफूलाई बधाई दिनेहरूप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् ।