
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंगेबीच आज (शुक्रवार) टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंगेले प्रधानमन्त्रीमा निर्वाचित भएकामा प्रचण्डलाई बधाई दिए । उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
टेलिफोन वार्तामा राष्ट्रपति विक्रमासिंगेले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई विभिन्न देशका सरकार प्रमुख एवं राष्ट्रप्रमुखले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरिरहेका छन् ।