
इस्वी संवत् २०२३ को पूर्व सन्ध्यामा चितवनस्थित पर्यटकीय क्षेत्रका होटल भरिन शुरू गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् ।
अंग्रेजी नयाँ वर्षका अघिल्ला २ दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् ।
सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले २ दिनयता हात्ती र जीप भरिएको जानकारी दिए । साँझसम्ममा सबै होटल भरिने उनको अनुमान रहेको छ ।
उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’
सौराहामा २ वटा होटल सञ्चालन गर्दै आएका माधव दुवाडी २ दिनयता दुवै होटल भरिएको बताउँछन् । होटल सेभेन स्टारमा शनिवार सांगीतिक कार्यक्रम रहेको भन्दै उनले अर्को होटेल पनि भरिएको बताए ।
उनले भने, ‘नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’ क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउँछन् । उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या राम्रो छ ।’ विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ ।
पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् । मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले २ दिनयता होटल भरिएको सुनाए । उनले भने, ‘अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ ।’ जंगल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले २ दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए ।
क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले क्रमशः पर्यटक बढ्दै गएको साँझसम्ममा होटल भरिने अपेक्षा रहेको बताए । सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रवार झण्डै आधा भरिएका उनको भनाइ छ । घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन् । संघको सदस्यमा साना होटल धेरै छन् । क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन् ।
पर्यटक बढेपछि निकुञ्ज आसपासका रेस्टुराँ पनि भरिएका छन् । सौराहामा १२० होटल क्षेत्रीय होटल संघमा आबद्ध छन् । संघमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् ।
भट्टराईका अनुसार सौराहामा ८ हजार पर्यटक अट्न सक्ने क्षमता छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुंगा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैंडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन् ।
कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन् ।