
अभिनेता अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ ।
अभिनेता केसीले शनिबार फेसबुकमा पोष्टर सार्वजनिक गर्दै आफूहरू फिल्म रिलिजको लागि तयारी अवस्थामा रहेको उल्लेख गरेका छन् ।
निगम श्रेष्ठको लेखन एवं निर्देशन रहेको फिल्मले फागुन १९ गतेका लागि प्रदर्शन मिति घोषणा गरिसकेको छ ।
उक्त मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ पनि प्रदर्शनमा आउँदैछ ।
मल्टिप्लेक्स चेन अन्तर्गतको क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म प्रदर्शन नगर्ने बताएसँगै यतिबेला यो विषय चर्चामा छ ।
क्यूएफएक्सले उक्त मिति ‘छक्का पञ्जा ४’लाई दिइसकेको समेत बताएको छ । यद्यपि, उक्त मितिबाट ‘२.० छड्के’ पनि पछि हट्ने देखिँदैन् ।
सोही कारण पनि निर्माण टिमले पुनः प्रदर्शन मिति उल्लेखित नयाँ पोष्टर सार्वजनिक गरेको बुझ्न सकिन्छ ।
अनमोल र दीपकराजको फिल्म एउटै मितिमा आउने भएसँगै बक्स अफिस भिडन्त रोचक हुने देखिएको छ ।
काभ्रे फिल्मसको ब्यानरमा निर्माण भएको ‘२.० छड्के’ रिभेन्ज ग्याङस्टर फिल्म हो ।
प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
फिल्ममा अनमोलसहित रविन तामाङ लगायतका कलाकारहरु समेत शीर्ष भूमिकामा छन् ।
