
केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् ।
सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्रकै अन्य व्यवसायीलेसमेत यसको विरोध गरिरहेका छन् । राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा भनिएको छ, “वार्षिक मूल्य वृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ ।”
राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ को दफा ६ (ख) मा दुग्ध विकास बोर्डले दूधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने भनिएको छ । यसरी विद्यमान कानुनी व्यवस्थाले दूधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहेपछि व्यवसायीले भने ११ महिनामै मूल्य बढाएका हुन् । यसअघि बोर्डको सिफारिसमा सरकारले २०७८ माघमा दूधको मूल्य तोकेको थियो । एक वर्ष नपुग्दै व्यवसायीले एकतर्फी रुपमा मूल्य बढाएका हुन् ।
दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परेपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीहरूको भनाइ छ । किसानको उत्पादन लागत नै महँगो परेपछि बाध्य भएर मूल्य बढाएको नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताए ।
गतवर्ष माघमा सरकारले दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ९७ पैसा तोकेको थियो । त्यसमध्ये किसानले प्रतिलिटर ५६ रुपैयाँ चार पैसा पाउँछन् भने प्रतिलिटर ९३ पैसा चिस्यानमा राख्ने खर्चका रुपमा रहन्छ । तर पछिल्लो समय किसानले नै प्रतिलिटर रु ७० सम्ममा दूध बेच्न थालेको र किसानबाट खरिद मूल्य बढेपछि बजारमा उपभोक्ता मूल्य पनि बढाइएको उनको भनाइ छ ।
दूधमा मूल्य बढाउँदा त्यसको लाभ किसानले नभई व्यवसायीले नै लिने गरेको भन्दै आलोचना भइरहेको छ । तर दाहालले भने किसानले पाउने दूधको मूल्यको मार्जिन बढेको दाबी गरे ।