२७ जेठ २०८३, बुधबार

कांग्रेस–माओवादी गठबन्धन ‘हाइज्याक’ भयोः रामचन्द्र पौडेल

कांग्रेस–माओवादी गठबन्धन ‘हाइज्याक’ भयोः रामचन्द्र पौडेल
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने धारणा राखेका छन् । मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेशसभाको ‘आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । 

नेता पौडेलले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिकलगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमति सरकारको आवश्यकता रहेको बताए । उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए । लामो संर्घर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाइ थियो । 

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे । उनले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताए । उनले विगतमा आफूहरूका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दूर्भाग्य भएको बताए । देशमा अस्थिरताको शृंखला अगाडि बढेको उनले बताए । 

‘म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो भन्ने एउटा नेपाली उखान छ, एउटा कुरा सोचेर आइराखेको छ कुरा अर्कै भइसक्छ । हाम्रो हिसाबकिताबले यहाँ काम गरेकै छैन । कुन हिसाबकिताबले काम गरेको हो थाहा छैन । एकथोक सोचेको अर्कोथोक भइराखेको हुन्छ’, नेता पौडेलले भने, ‘कांग्रेसले माओवादीलाई हँसिया–हथौडामा भोट हालेर, माओवादीले रुखमा भोट हालेर आफ्नोविपरीत सिद्धान्तलाई पनि अंगिकार गरेर चुनाव सम्पन्न भयो । लगभग गठबन्धन बहुमतमा आयो पनि । दुई चार भोट यता उता त्यो मिलिहाल्थ्यो । त्यो आएको गठबन्धन एकाएक हाइज्याक भयो । यसलाई मैले के रूपमा भनेको छु भने फेरि देशको लागि दूर्भाग्य ।’

वरिष्ठ नेता पौडेलले सांसदहरुलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिको रुपमा पठाइने भएपनि सांसदहरु विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए । जनताले पनि सांसदहरुलाई विकासे कार्यकताको रुपमा बुझ्दा समस्या भएको बताए । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरु पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्