
काठमाडौं १ भदौ–सप्तरीको तिलाठी निवासी दामोदर मुखिया अहिले ठूलो पीडामा परेका छन् । अविरल बर्षासँगै आएको बाढी घरमा पसेपछि मुखिया परिवार शनिवारदेखि घरवासविहीन बनेको छ । मुखियाको ७ जनाको परिवार अहिले त्रिपालमुसन ओत लागेर बसेको छ ।
बाँस काटेर त्रिपालको टहरा बानाएर बसिरहेका मुखियाले आफू दुई दिनसम्म भोकै बसेको बताए । ‘गाउँभरी बाढी पस्यो, घरमा भएको अन्न, खानेकुरा केहि पनि छैन, बाढीले सबैथोक बगायो’ पीडित मुखियाले लोकान्तरसँग टेलिफोनमा भने, ‘अन्नपात नै छैन कसरी चुल्लो बाल्नु ? ५ दिनदेखि चिउरा र मुरहीको भरमा बाँचिरहेका छौं ।’

बाढिले गाउँ डुवानमा परेर भोकभोकै बस्नुपर्दा पनि सरकारले केहि गर्न नसकेको उनले गुनासो गरे । बाढिले घर बगाएपछि त्रिपालमा बसिरहेका मुखियाले अहिलेसम्म पकाएको खाना खान नपाएको बताए ।
मंगलबारबाट पानी पर्न रोकिएपनि कतिपय क्षेत्र अझै डुवान मै रहेको त्यहाँका स्थानीयहरुले बताएका छन् । पानी पर्न छाडेपनि मुखिया जस्तै तिलाठीका सयौं घर परिवारको बास त्रिपालमुनि छ ।
एउटा त्रिपाल पाँच घरलाईगत शुक्रबारको वर्षाको कारण डुवानमा परेका बाढी प्रभावितहरु कष्टकर जीवन विताईरहेका छन् । केहि घर सुरक्षित भएपनि तिलाठीमा अघिकांश कच्ची घरहरु बाढीले बगाएको छ । तिलाठीमा नेपाली सेनाले मंगलबार र बुधबार केहि खाद्यान्न र त्रिपाल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तर बाढीको कारण घरबार विहीन बनेका तिलाठीका पीडितहरुलाई सरकारले वितरण गरेको राहत सामाग्री हात्तिको मुखमा जिरा जस्तै मात्र भएको छ । एउटा त्रिपालले ५ घरको परिवार संम्म कोचिएर बस्नुपरेको पीडितहरुले गुनासो गरे ।

बाढीले ढलको पानी खानेपानीको कलमा मिसिदा तिलाठीका स्थानीयले शुद्ध पानी समेत पिउँन पाएका छैनन् । जसको कारण बालबालिका र वृद्धवृद्धामा झाडापखला र रुघाखोकीको समस्या देखिन थालेको स्थानीय महेन्द्र खङ्ग खत्रीले बताए । ‘पानी रोकिएपनि सबैठाउँ हिलाम्मे छ, बालबच्चा र बुढाबुढीहरु विरामी पर्न थालेका छन्’ खत्रीले लोकान्तरसँग भने ।
पाँच दिनसम्म खाना खान नपाउँदा स्थानीय प्रशासनले केही नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । बाढी पीडितहरुले सबैबाट सहयोगको आश्वासन मात्रै पाएका छन् ।
बाढीपीडितलाई कुहिएको चामल वितरणसप्तरीको तिलाठीका बाढी पीडितलाई रेडक्रस लगायतका संस्थाले कुहिएको चामल वितरण गरेको स्थानीयहरुले गुनासो गरेका छन् । तिलाठीका १ सय ८० जना बाढी पीडितलाई मंगलबार बाढी प्रभावित क्षेत्रमै पुगेर रेडक्रसले वितरण गरेको चामल विग्रीएको स्थानीय निरज मुक्ति झाले लोकान्तरलाई बताए ।
‘१० किलोको दरले १ सय ५० जनालाई चामल वितरण गरिएको थियो तर कुहिएको चामल रहेछ’ उनले भने, ‘यो त पीडितलाई थप पीडा दिएजस्तो भयो । त्यो चामल प्रयोग गरिको छैन, अहिले एकै ठाउँमा जम्मा गरिएको छ ।’
सप्तरीबाट निरज मुक्तिको सहयोगमा