
युक्रेनले आइतवार डोनेत्स्कको माकेयेव्कामा गरेको क्षेप्यास्त्र आक्रमणमा परी मर्ने रुसी सैनिकहरूको संख्या बढेको छ ।
रुसको रक्षा मन्त्रालयले जारी गरेको अद्यावधिक विवरणअनुसार, रुसीहरूले अस्थायी अखडा बनाएको स्थानमा गरिएको आक्रमणमा ८९ जनाको मृत्यु भएको छ ।
युक्रेनीहरूले चाहिँ घटनामा ५०० भन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेका छन् ।
व्यावसायिक शिक्षा दिने एक विद्यालयमा अस्थायी शिविर बनाइएको थियो । क्षेप्यास्त्र प्रहारबाट भग्नावशेषमा परिणत भएको विद्यालय भवनबाट थप सैनिकको शव निकालिएको बताइएको छ ।
उक्त भवनलाई हिमार्स रकेट लोन्चरका ६ वटा क्षेप्यास्त्रले तारो बनाएका थिए । तीमध्ये चारवटाले रुसको हवाई प्रतिरक्षालाई छेडेर भवनलाई जनवरी १ को पहिलो मिनेटमै ध्वस्त पारेका थिए । हिमार्स लोन्चरलाई प्रत्याक्रमणमा पछि ध्वस्त पारिएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
त्यहाँ रहेका रुसी सैनिकहरूले मोबाइल फोनमा कुरा गरेकाले युक्रेनीहरूले त्यो ठाउँ पत्ता लगाएर आक्रमण गरेको लेफ्टिनेन्ट जनरल सर्गे सेभ्य्रुकोभले पत्रकारहरूलाई बताए । मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको भए पनि त्यसलाई अवज्ञा गरिँदा घटना हुन पुगेको उनको भनाइ छ ।
तर सैन्य कमान्डरहरूले त्यति धेरै सैनिकहरूलाई एकै ठाउँमा त्यसरी राख्नु नै जोखिमपूर्ण भएको भनी रुसी विश्लेषकहरूले नै आलोचना गरिरहेका छन् । सैनिकहरूलाई दोष दिएर कमान्डरहरूलाई चोख्याउन प्रयास गरिएको उनीहरूको आरोप छ ।