२४ असार २०८३, बुधबार

बाढीले सदरमुकाम बगाउने डरले रातभर सुत्दैनन् चैनपुरवासी

कात्तिक २०, २०७४
बाढीले सदरमुकाम बगाउने डरले रातभर सुत्दैनन् चैनपुरवासी
बझाङ, १ भदौ-बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । 

चैनपुरलाई जोगाउन सदरमुकाम चैनपुर बचाउ अभियानमा आएको रकमको प्रयोग भने सामान्य देखावटीरुपमा गरेपनि ठेकेदार र सरोकारवालाको पेट भर्ने बाटो मात्रै बन्दै गएको छ । 

बाहिरबाट हेर्दा सेती नदी र बाहुलीगाड खोलाले तीनतिरबाट घेरेर बनेको चैनपुर सानो चिटिक्कको उपत्यकाजस्तै देखिन्छ । यसै कारण यो सदरमुकाम सुदूरका पहाडी जिल्लामा सबैभन्दा मिलेको र सुन्दर सदरमुकामको रुपमा परिचित छ । तर यी दुई नदीका कारण यहाँको जमिन कटान शुरु भएपछि सदरमुकाम बग्ने डरले स्थानीय चिन्तित भएका छन् । 

वर्षायाम शुरु भएसँगै सेती नदी र बहुलिगाड खोलामा पानीको बहाव बढेसँगै जोखिम पनि बढेको हो । 

तीनैतिर सेती नदी र बाहुलीगाड खोलाले घेरेर बनेको सदरमुकाम चैनपुर झट्ट हेर्दा सानो टापु जस्तै देखिन्छ । तर यी दुई नदीले तिनैतिरबाट कटान शुरु भएपछि जोखिम बढेको हो । 

जोखिम बढेसँगै सदरमुकामवासी चिन्तित बनेका छन् । नदी किनाराका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । कुनबेला सदरमुकाम बगाउँछ भन्ने डरले सदरमुकामवासी चिन्तित भएका छन् । 

गत वर्ष असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले सदरमुकामलाई जिल्लाको दक्षिण तथा पश्चिमी क्षेत्रका गाविस जोड्ने झोलुङ्गे पुल बगाएको थियो । सोही दिन आएको बाढीका कारण बाहुलीगाड खोलाले धार परिवर्तन गरी सदरमुकामतिरको क्षेत्र कटान शुरु गरेपछि सदरमुकामवासी बाढीको खतराको महशुस गर्न थालेका छन् । 

बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डरले आफूहरु त्रसित भएको नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताउनुभयो । पहिला सिमखेततिर भएर बग्ने बाहुलीगाड अहिले चैनपुरतिर फर्किएको छ, समयमै नियन्त्रण गर्न नसके ठूलो क्षति निम्त्याउने खतरा रहेको छ उहाँले भन्नुभयो । 

वर्षेनी सदरमुकाम चैनपुर बचाउ अभियानमा विभिन्न बहाना गरेर अएको रकम ठेकेदार र सरोकारवालाको पेट भने काम मात्र भइरहेको छ तर यहाँ भने कहिले चैनपुर सखाप हुन्छ भन्ने त्रास छ, उहाँले बताउनुभयो । 

बाहुलीगाडको कटान बढ्दै जाँदा सदरमुकामको उत्तर दिशाबाट साइपाल हिमालको फेदीबाट बगेर आउने सेती नदी र सुर्मा सरोवरको पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाढ सदरमुकाम चैनपुरलाई गोलाकार रुपमा घेरेको छ । यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा रहेको यहाँका बुद्धिजीवीको भनाइ रहेको छ । 

बाहुलीगाडले बेलाबेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । ३२ वर्षदेखि नबगाएको झोलुङ्गे पुल त हेर्दा हेर्दै बगायो । चारैतिरबाट कटान गरिरहेको छ, कुन बेला बगाएर लैजान्छ भन्ने चिन्ताले पिरोलिरहेको छ, मूसलधारे पानी परे राति निन्द्रा लाग्दैन, स्थानीय गोरख बोहराले बताउनुभयो । 

बाहुलीगाड र सेती नदी क्षति न्यूनीकरण तथा सदरमुकाम बचाउ अभियान–२०७३ नाम दिइएको स्थानीयको दबाब समूहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै तुरुन्त नियन्त्रणको प्रयास गर्न माग गर्दै धर्नासमेत दिएको थियो । 

ठूला दुई नदीले सदरमुकाम चैनपुरलाई वरिपरिबाट च्यापी रहेको हुनाले जोखिममा छ, केही सामान्य तटबन्धन गर्नलाई केही ग्याबियन जाली हालेका छन् तर यो सामान्य कार्यले हुने नभएकाले केन्द्रबाट नै ठूलो योजनाको माग राखेर बाहुलीगाड र सेती नदीमा तटबन्धन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी केशबबहादुर थापाको भनाइ रहेको छ । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्