
कालीकोटको नरहरिनाथ गाउँपालिकाका वासिन्दा कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् ।
रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन ।
नरहरिनाथ–८ खुलालुदेखि वडा नम्बर ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानीघट्ट छन् । नरहरिनाथ–९ लालुमा स्थित जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भने, ‘खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा पराम्परागत पानीघट्ट रहेका छन् ।’
आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि पराम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ–१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताए । ‘नरहरिनाथ गाउँपालिकामा ५ वटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले रहगाड खोलामा धेरै पानीघट्ट रहेका हुन् ।’
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनगणनाअनुसार नरहरिनाथ गाउँपालिकामा पारिवारिक घरधुरीको संख्या ४ हजार ४२२ रहेको र जनसंख्या २२ हजार ४१४ जना रहेकामा सबैले पानी घट्टमा नै कुटानी–पिसानी गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले जानकारी दिए ।
‘गाउँपालिकाभरि कुटानी– पिसानीका लागि आधुनिक मिल छैन,’ उनले भने, ‘गाउँपालिकाका सबै जनाले पानी घट्टमा नै कुटानी–पिसानी गरेको पीठो खानुहुन्छ ।’