
अवैधरूपमा लागूऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमा नाकामा प्रहरीले उच्च निगरानी बढाएको छ ।
पछिल्लो १ हप्तामा मात्रै प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट ४ हजार ५०० ट्याब्लेट र १५५ दशमलव ५ ग्राम चरेश बरामद गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट नुफ्रिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल र फेनारगन पनि १ हजार एम्पुल बरामद गरिएको छ ।
पछिल्लो केही दिनदेखि लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताए ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट ३०० मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित २ थान तराजु बरामद गरिएको थियो । अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागूऔषध बिक्री गर्न पठाएको खुलेको थियो ।
उनी झापामा रहेको थापा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौं पठाएको छ ।
सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्यूरोको अर्काे टोलीले काठमाडौं महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट ६ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।