
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको अन्तक्र्रियामा प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रलाई सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताएका हुन् ।
नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकाले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने उनले बताए । उनले प्रहरीलाई नकारात्मक चरित्रका रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुनसक्ने चिन्ता व्यक्त गरे ।
प्रवक्ता राईले तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायाङ्कनका क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकङ्नस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्त्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
उनले पछिल्लो समयमा चलचित्र छायाङ्कनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकाले यसको प्रयोग सहजीकरण गर्न प्रहरीसँग आग्रह गरे ।
वरिष्ठ कलाकार नीर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदानप्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिबद्धता व्यक्त गरे ।