
मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ बस्ने ५० वर्षीय धनुषधारी दासको गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनकै जेठो छोरा २१ वर्षीय प्रदीप दास, उनका ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र धनुषा नगराइन नगरपालिका–२ जटही बस्ने २१ वर्षीय रञ्जीतकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा बिग्रीएको पानी पम्पसेट मर्मत गरिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले पुस ९ गते बिहान गोली प्रहार गर्दा गम्भीर घाइते भएका धनुषधारीको उपचारको लागि प्रादेशिक अस्पतालमा लैजानेक्रममा मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धान गर्न तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार धनुषधारीका जेठो छोरा प्रदीप, घटनाका सहयोगी धनुषधारीका ज्वाइँ उदय र गोली प्रहार गर्ने रञ्जीत कुमारलाई हत्या गर्न प्रयोग भएको कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोलीको खोका १ थान, अटोमेटीक पेस्तोलमा लाग्ने म्याग्जीन १ थान र अटोमेटिक पेस्तोलको गोली १ राउण्डसहित पक्राउ गरेको थियो ।
उनीहरूउपर जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा शीर्षकमा म्याद थपगरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।