२७ असार २०८३, शनिबार
राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई डेढ घण्टा भेटेपछि रवीन्द्र मिश्र : राजसंस्था छिटो पुनःस्थापना गरौँ

पूर्वराजा ज्ञानेन्द्रलाई डेढ घण्टा भेटेपछि रवीन्द्र मिश्र : राजसंस्था छिटो पुनःस्थापना गरौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा फेरि पनि राजसंस्थाको पुनःस्थापना अपरिहार्य भएको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रसँग डेढघण्टा भेटेर फर्किएको भन्दै उनले पूर्वराजामा देशप्रतिको चिन्ता गहिरो रहेको बताएका हुन् । 

‘१५ वर्षपछिको प्रेमपूर्ण भेट ! असोचनीयस्तरको प्रतिकूलता व्यहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष’, उनले भनेका छन् । 

हठात अभिावकीय भूमिका खेल्ने राजसंस्थालाई हटाइएको भन्दै उनले राजसंस्थाको पुनःस्थापना देश र दक्षिण एसियाको हितमा रहेको पनि जिकिर गरेका छन् । 

‘विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनःस्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु ! यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दीर्घकालीन हितमा हुनेछ’,  मिश्रले भनेका छन् ।

यस्ताे छ मिश्रको स्टाटस

१५ वर्षपछिको प्रेमपूर्ण भेट!
असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष ।

राजाबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन । संसारमा एक या अर्को प्रकारको गल्ती नगर्ने राजा छँदा पनि छैनन् । परिपक्व राजनीतिकर्मीहरू देशको दूरगामी हितलाई ध्यानमा राखी फाइदा र हानीलाई समग्रतामा मूल्यांकन गरेर मात्र ऐतिहासिक महत्व बोकेका संस्था राख्ने या हटाउने निर्णय गर्छन् ।
तर, स्वार्थकेन्द्रीत र अपरिपक्व नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हित÷अहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिए । त्यो पनि राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनी गरिएको १२ बुँदे सहमतिको विपरीत गएर ।

२०६३ साल बैशाख ४ गते बसेको पुनस्र्थापित संसदको पहिलो बैठकले राजासँग भएको समझदारी अनुरूप राजसंस्थालाई निरन्तरता दिन जेठी छोरी पनि गद्दीको उत्तराधिकारी हुनसक्ने भनी गरिएको निर्णयको विपरीत गएर । अनि चुनाव हारेर ‘जनप्रतिनिधि नै नरहेका’ कृष्णप्रसाद सिटौलालाई संविधानसभामा गणतन्त्रको प्रस्ताव फ्लोर गर्न दिएर ।

संसद पुनस्र्थापनामार्फत आफ्नो गल्ती सच्याइसकेका राजालाई यसरी षडयन्त्र गरेर, विदेशीको प्रभावमा परेर, ढाँटेर÷छलेर गद्दीच्युत गरिएको थियो । त्यसपछि दर्जनौँ स्वदेशी र विदेशी राजा जन्मिए । पृथ्वीनारायण शाहलाई सरापेर माक्र्स र माओलाई माला लाउन थाले ।

अहिलेका अधिकांश राजनीतिकर्मीलाई अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न लागेको नेपाल, नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेनाबाहेक राजनीतिले बेस्कन गिजोलिएका र लगभग पूर्णत क्षयीकृत भएका नेपालका सबै संस्थाहरूबारे मतलबै छैन ।

नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’ मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिवावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन । ढिलो भइसकेको हुनेछ ।

म पत्रकार हुँदा र राजा ‘राजा’ नै हुँदा सन् २००७ मा उनलाई दुईपटक भेटेको थिएँ । त्यसपछिको भेट यही नै हो । राजाको दीर्घायुको तथा देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु ! यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दीर्घकालीन हितमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्