
उत्तर कोरियाले पूर्व परराष्ट्रमन्त्री री योङ–होको सफाया गरेको दक्षिण कोरियाको गुप्तचर निकायले बिहीवार पुष्टि गरेको छ ।
तर उनलाई मृत्युदण्ड दिइएको हो कि बेपत्ता बनाइएको हो भन्ने स्पष्ट छैन ।
जापानी पत्रिका योमिउरी शिम्बुनले रीलाई पोहोर साल मृत्युदण्ड दिइएको भनी बुधवार खबर दिएको थियो । उनले अनेकौं अज्ञात स्रोतलाई उद्धृत गर्दै खबर दिएको हो ।
रीलाई सन् २०१६ मा उत्तरको परराष्ट्रमन्त्री बनाइएको थियो । उनले सन् २०१८ र २०१९ मा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको शिखरबैठकमा भएका सम्झौतामा प्रमुख भूमिका खेलेका थिए । ती बैठकहरू निष्कर्षविहीन रहे ।
उनले सन् २०२० मा मन्त्रीपदबाट राजीनामा दिएका थिए ।
उत्तरका पाँचवटा ड्रोनहरू हालैको समयमा दक्षिण कोरिया प्रवेश गर्दा सौलस्थित राष्ट्रपति कार्यालयको तस्वीर खिचेको हुन सक्ने सम्भावनालाई आफूले खारेज नगर्ने पनि गुप्तचर निकायले जनाएको छ ।