
फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अल नासर क्लबका लागि पहिलो पत्रकार सम्मेलनमा बोल्ने क्रममा गल्ती गरेका छन् ।
मंगलवार रियादमा भएको भव्य समारोहमा रोनाल्डोले आफू साउदी अरबमा नभई दक्षिण अफ्रिकामा भएको बताए ।
आफू अझै पनि शीर्ष तहमा खेल्न सक्षम रहेको भनी दाबी गर्ने रोनाल्डोले साउदीको लीगमा खेल्न जानु पतन भएको भनी गरिएको दाबीलाई रोनाल्डोले खारेज गरेका छन् ।
साउदी आउने कदमलाई प्रतिरक्षा गर्दै रोनाल्डोले आफू साउथ अफ्रिका आउनु करीयरको अन्त्य नभएको बताए । साउदी र साउथमा उनी झुक्किएका हुन् ।
‘युरोपमा मेरो काम सकिएको छ । मैले त्यहाँ सबैथोक जितिसकेको छु र युरोपका महत्त्वपूर्ण क्लबहरूका लागि खेलिसकेको छु । यो मेरा लागि नयाँ चुनौती हो,’ रोनाल्डोले मरसूल पार्क स्टेडियममा बताए ।
‘मैले त्यहाँ सबै कीर्तिमान भंग गरिसकेको छु । यहाँ पनि म केही कीर्तिमानहरू तोड्न चाहन्छु । यो सम्झौता अद्वितीय छ तर म अद्वितीय खेलाडी हुँ त्यसैले मेरा लागि यो सामान्य कुरा हो,’ उनले थपे ।
‘मलाई मान्छेले के भन्छन् भन्ने कुराले चिन्ता दिँदैन । म यहाँ खेल्न पाउँदा साँच्चिकै खुशी छु । साउदी लीग अत्यन्तै प्रतिस्पर्धात्मक रहेको मलाई थाहा छ ।’
रोनाल्डोलाई अल नासर क्लबले २१ करोड डलर प्रतिसीजन तिर्ने गरी भित्र्याएको हो । यो कुनै पनि फूटबलरका लागि तिरिएको सर्वाधिक रकम भएको बताइएको छ ।