१३ असार २०८३, शनिबार

कृषियोग्य जग्गाको खण्डिकरण रोक्नुपर्छ : गणेश तिमिल्सिना

कृषियोग्य जग्गाको खण्डिकरण रोक्नुपर्छ : गणेश तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषियोग्य जग्गाको खण्डिकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । बिहीवार नेपाल कृषि सहकारी केन्द्रीय संघको वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय कृषियोग्य जमिनमा प्लटिङ गरी बस्ती बसाउने क्रम बढेको बताए । 

अध्यक्ष तिमिल्सिनाले सरकारले कृषि उत्पादन बढाउनको लागि जग्गाको खण्डिकरण गरी कृषियोग्य जमिनमा बस्ति बसाउन नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले सरकारको पहिलो काम नै कृषियोग्य जमिनको खण्डिकरण नियन्त्रण गर्ने हुनुपर्ने बताए । उनले कृषियोग्य जमिनमा बस्ति बसाउनेले नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको दाबी गरे । 

अध्यक्ष तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गिकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिए पनि दबाबको कारण काम गर्न नसकेको देखिएको बताए । उनले नेपाल कृषिप्रधान देश भनिए पनि कृषि क्षेत्रमा धेरै पछाडि रहेको उल्लेख गर्दै कृषिमा आत्मनिर्भर भएर कृषि निर्यात मुलुक देश बनाउनुपर्नेमा जोड दिए । 

उनले देशमा ठूला उद्योगधन्दाहरु स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरूसँग प्रतिष्पर्धा गर्न समस्या रहेको भन्दै देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए । उनले नेपाली माटोमा कृषिको राम्रो उत्पादन गरियो भने अग्र्यानिक कृषि उत्पादनलाई विदेशमा निर्यात गरेर मुलुकको अर्थतन्त्रलाई माथि ल्याउन सकिने बताए । उनले कृषि क्षेत्रमा सहकारीमार्फत उत्पादन, बजार व्यवस्थापन र ढुवानीसमेत गरेर सहुलियत मूल्यमा उपभोक्ताले पाउने तथा रोजागारीसमेत सिर्जना हुने बताए । 

अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा रहेका कानूनहरु कृषि उत्पादनमा बाधक भए कानून संशोधन गरेर किसानमुखी कानून बनाउनुपर्ने बताए । उनले किसानमुखी कानून भएमात्रै किसानहरूको हित हुने दाबी गरे । उनले नेपाली माटोमा उत्पादन भएका अग्र्यानिक वस्तु प्रशोधन गरेर बेच्नसके दुनियाँका जुनसुकै देशले किन्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्