भारतको उत्तराखण्डमा रहेको प्रसिद्ध तीर्थस्थल बदरीधाम नजिक रहेको जोशीमठमा पहाड र जमीन भासिँदा ५६१ घरहरू चर्किएका छन् ।
यसले गर्दा ६६ वटा परिवार पलायन भइसकेका छन् ।
घटनाको अनुसन्धान गर्नका लागि एउटा टोली बिहीवार जोशीमठ पुग्ने उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बताएका छन् ।
जमीन भासिन थालेपछि जोशीमठमा रहेको एसियाको सबभन्दा लामो रोपवे बन्द गरिएको छ ।
जोशीमठ बचाओ संघर्ष समितिले आज बजार बन्द गर्ने घोषणा गरेको छ । विरोधकर्ताहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रशासनका काममा प्रश्न उठाएका छन् ।
भूवैज्ञानिक, इन्जिनीयर र अधिकारीहरूको एक टोलीले घरमा परेका चिराको अनुसन्धान गरिसकेका छन् । मानवनिर्मित तथा प्राकृतिक दुवै कारणले जमीन भासिएर घरहरू चर्केको निष्कर्ष उनीहरूले निकालेका छन् ।