२३ असार २०८३, मंगलबार

गुम्दै विराटनगरको साख : झापातिर सरिसकेको हो राजनीतिक शक्ति ?

पुस २१, २०७९
गुम्दै विराटनगरको साख : झापातिर सरिसकेको हो राजनीतिक शक्ति ?

एक समयमा काठमाडौंपछि राजनीतिको केन्द्रका रूपमा विराटनगरलाई मानिन्थ्यो । विराटनगरबाट नै राजनीति गर्नेहरूमध्ये ६ जना प्रधानमन्त्री भए । कोइराला परिवारबाट ३ जना प्रधानमन्त्री भएका थिए ।

कोइराला परिवारका मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद प्रधानमन्त्री भए । विराटनगरकै मनमोहन अधिकारी, कीर्तिनिधि विष्ट र नगेन्द्रप्रसाद रिजाल पनि प्रधानमन्त्री भए ।

विक्रम संवत् १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएको थियो । २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई नेपाल सरकारले १ वर्ष कैद गरेको थियो ।

२००७ सालमा उनले नेपालमा राणा शासनको अन्त्यका लागि सैनिक संघर्ष शुरू गरेका थिए । सोही वर्ष राणा शासनको अन्त्य भएर नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो ।

त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बनेको थियो । मोहन शमशेर नेतृत्वको सरकारमा बीपी कोइराला गृहमन्त्री बनेका थिए । बीपी देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको विराटनगर अहिले खुम्चिएको अवस्थामा छ ।

२००७ देखि २०६५ सालमा विराटनगर राजनीतिको केन्द्रमै रहेको थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदासम्म विराटनगर राजनीतिक केन्द्रका रूपमा रहेकै थियो तर पछिल्लो समय देशभरका अन्य उदीयमान शहरहरूभन्दा विराटनगर राजनीतिक तथा आर्थिक हिसाबले कमजोर बन्दै गएको पूर्व अर्थसचिव रामेश्वर खनालको विश्लेषण छ ।

विराटनगरमा गत वर्ष आयोजित एक कार्यक्रममा खनालले भनेका थिए, ‘देशको क्रान्तिको बिगुल छर्ने विराटनगरले अब आफ्नो अस्तित्व गुमाउँदै गइरहेको छ ।’ 

विगतमा ‘आज विराटनगरले जे सोच्छ, देशले भोलि सोच्छ’ भन्ने भनाइ थियो तर अहिले विराटनगरले सोचेको कुरा पूरा हुन छाडेको विराटनगरका पुराना नेताहरू बताउँछन् । ‘अहिले विराटनगर देशको दोस्रो ठूलो शहरबाट छैठौं शहरमा पुगेको छ,’ विराटनगर महानगरका मेयर नागेश कोइरालाले भने, ‘विराटनगरको गुमेको साखलाई फर्काउनु हामी सबैको दायित्व हो भन्ने मैले ठानेको छु ।’ राजनीतिक विरासत फर्कन केही समय लागे पनि ठूलो शहरबाट छैठौं शहरमा पुगेको विराटनगरलाई छिट्टै पुरानै अवस्थामा फर्काउने उनले बताए । उनले आफू निराश नभई काम गरिरहेको बताए ।

कोइराला परिवारबाटै पुनः प्रधानमन्त्री भएर डा. शेखर कोइरालाले गुमेको विराटनगरको साखलाई फर्काछन् भन्ने धेरैलाई लागेको छ ।

कांग्रेसको हातबाट सत्ता गुम्नु र उनी संसदीय दलको नेता नहुनुले विराटनगरवासीमा चिन्ता थपिएको छ । 

डा. कोइरालाले गुमेको विराटनगरको साख फर्काउने बताए । ‘विराटनगरको विषयमा म पनि चिन्तित छु,’ शेखरले भने, ‘गुमेको साख फर्काउनका लागि मेरो पहल रहनेछ ।’

२०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका गिरिजाप्रसाद कोइराला विराटनगरमा आएर मात्रै महत्त्वपूर्ण निर्णयहरूका विषयमा बोल्ने गरेका थिए । विराटनगरबाट फर्केपछि यस्ता निर्णयहरू लागू गरेर कार्यान्वयन गर्थे । गिरिजाप्रसादकै जस्तो डा. शेखरले पनि महत्त्वपूर्ण निर्णय विराटनगरमै आएर गर्ने गरेका छन् तर उनी नेतृत्वमा भने पुग्न सकेका छैनन् । 

कतिपय जानकारहरू अहिले नै विराटनगर पहिलाको जस्तो अवस्थामा फर्कन सम्भव नरहेको बताउँछन् । राजनीतिमा सबै ठाउँको हैसियत सधैं एकनास नहुने राजनीतिक विश्लेषक कृष्ण पोख्रेल बताउँछन् । ऐतिहासिक घटनाको उपज नेताहरू भएकाले पनि गुमेपछि साख फर्काउन समस्या पर्ने उनको भनाइ छ । ‘तत्कालै त त्यो सम्भावना देखिन्न,’ उनले भने, ‘पार्टीहरूको महाधिवेशनले मात्रै विरासत फर्काउन सक्छ ।’ 

७ वटा प्रधानमन्त्री पाएको विराटनगरले यतिबेला प्रदेशको नेतृत्व लिन पनि पछि परेको छ । पछिल्लो कार्यकालमा १ नम्बर प्रदेशले ३ मुख्यमन्त्री पाएको थियो, जसमध्ये ३ जना नै विराटनगर बाहिरका थिए । भोजपुर र सुनसरीले पहिलो कार्यकालमा मुख्यमन्त्री पायो ।

संस्थापक मुख्यमन्त्री शेरधन राई र बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरका हुन् । निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्य सुनसरीका हुन् । 

प्रदेश सभाको दोस्रो कार्यकालका लागि विराटनगरभन्दा बाहिर नै नेतृत्व जान्छ भन्दा फरक नपर्ला । संसदीय दलका नेता पनि मोरङभन्दा बाहिरका छन् । ३ पार्टीका संसदीय दलका नेता झापाका छन् । १ नम्बर प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलको नेता झापाका हिक्मतबहादुर कार्की छन् । राप्रपा संसदीय दलको नेता पनि झापाकै छन्, राप्रपा नेता भक्तिप्रसाद सिटौला झापा क्षेत्र नम्बर ४(२) बाट निर्वाचित भएका थिए ।
 
नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका उद्धव थापा संसदीय दलको नेता समेत निर्वाचित भएका छन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि झापाकै हुन् । देशको चाबी पनि झापातिर सरेको देखिँदैछ । झापा घर भएका २ अध्यक्ष सत्ता गठबन्धनको चाबी बोकेर बसेका छन् । 

१ नम्बर प्रदेशमा सरकारको दाबी गरिरहेको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पाँचथरका हुन् । एकीकृत समाजवादीले संसदीय दलको नेता छानिसकेको छैन । संसदीय दलको नेता भने मोरङभन्दा बाहिरकै हुने लगभग पक्का जस्तै छ । 

मुख्यमन्त्री समेत रहेका राजेन्द्र राई संसदीय दलको नेता बन्ने लगभग पक्का जस्तै रहेको छ । उनी भोजपुरका हुन् । राजेन्द्र एकीकृत समाजवादीका सचिव पनि हुन् । 

विराटनगरमा नेताहरू एकजुट नहुँदा पनि साख गुमेको नेताहरू बताउँछन् । ‘पश्चिमका शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कांग्रेस, कम्युनिस्ट एकजुट भएको देखिन्थ्यो,’ कांग्रेसका पुराना नेता फूलकुमार लालवानीले भने, ‘विराटनगरमा पनि गिरिजाबाबु र मनमोहन अधिकारीबीच त्यस्तो देखिन्थ्यो ।’ अहिलेका नेताहरूको छाती नै सानो भएकाले विराटनगरको साख गुमेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्