२७ असार २०८३, शनिबार

कृषि पेसामा राउटे समुदाय, उत्कृष्ट किसानको पुरस्कार लालसिंह राउटेलाई

कृषि पेसामा राउटे समुदाय, उत्कृष्ट किसानको पुरस्कार लालसिंह राउटेलाई

लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेशा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेशामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले डडेलधुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेलधुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन् । 

‘तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु । पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो । अहिले दुवै काम गर्न भ्याएको छु’, उनले भने । ३२ वर्षीय सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुख्र्यौली सीप र कृषि पेशाले आम्दानीको स्रोत बढेको बताए । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उनको भनाइ छ । उनले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आएका छन् । 

पुरस्कार ग्रहण गर्न काठमाडौं आएका उनले काठमाडौं पहिलोपटक भ्रमण गरेकोसमेत बताए । ‘पुरस्कार पाएको छु । आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जुर्‍यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ’, उनले भने । 

बाल्यकालमा भारतको सिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइँ धेरै छोटो लागेको बताए । ‘पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो । तर, समय अभावका कारण फर्किँदैछु । फेरि दोस्रोपटक काठमाडौँ घुम्न आउनेछु’, उनले भने । बाख्रापालन, तरकारी खेती र गँहु उत्पादनबाट धेरै आम्दानी नभए पनि दैनिकी राम्रो गुज्रेको उनको भनाइ छ । 

डडेलधुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौंसम्म आउन सहजीकरण गरेका थिए । ‘राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ । अरुजस्तै उहाँले पनि आउन मान्नुभएको थिएन । उहाँलाई काठमाडौँ शहर घुम्न पाइन्छ भनेपछि आउनुभयो’, विष्टले भने । 

काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेशाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर, थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।

राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उनले बताए । उनले भने, ‘भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ । जसले गर्दा उहाँहरूलाई सिर्जनशील बनाउन सकिएको छैन । व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन ।’ रासस

salt training

कमेन्ट गर्नुहोस्